जेठ ३, दाङ
साहित्यकार गिरिराज खनाल ‘पहिलो किरण’ कविता सङ्ग्रह घोराही दाङमा लोकार्पण गरिएको छ।
राप्ती साहित्य परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा संस्कृतिविद् वरिष्ठ साहित्यकार डा. गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा पहिलो किरण कविता सङ्ग्रहको लोकार्पण गरिएको थियो।
विमोचित कृतिको समीक्षा साहित्यकार रेशम बिसीले गर्नुभएको थियो। साहित्यकार बिसीले पुस्तकको समीक्षा गर्दै भन्नुभयो,ूपहिलो किरण कविता सङ्ग्रह लेखकको पहिलो कृति हो । यसमा रहेका सबै कविताहरू छन्दमा छन् । ५२ वटा कविता रहेका यस पुस्तकमा एक दर्जनजति छन्दहरूको प्रयोग गरिएको छ। त्यसमा पनि झ्याउरे छन्दका धेरै कविताहरू यस कविता सङरग्रहमा समेटिएका छन् । यो कवितासङ्ग्रह बालक, युवा तथा प्रौढ नागरिक सबैका लागि उपयोगी रहेको छ।ू
प्रमुख अतिथिको रूपमा बोल्दै वरिष्ठ साहित्यकार तथा संस्कृतिविद् डा. गोविन्द आचार्यले भन्नुभयो ‘यसमा रहेका सबै कविताहरू अत्यन्त सरल छन् । पढेर बुझ्नलाई कुनै शब्दकोश हेर्नु पर्दैन । सबै कविता सत्यमा आधारित छन् ।’
सो कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल, प्रगतिशील लेखक सङ्घ केन्द्रका सल्लाहकार पद्मप्रसाद शर्मा, राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो भने लेखकले पुस्तक लेखनदेखि प्रकाशनसम्मका अनुभवहरू प्रस्तुत गर्नुभएको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रम सञ्चालन सदस्य रिमा गौतमले गर्नुभएको थियो। सो कार्यक्रममा संस्थाको तर्फबाट ‘पहिलो किरण’ कविता सङ्ग्रहका लेखक गिरिराज खनाललाई प्रशंसा पत्रले सम्मान गरिएको थियो।