दाङ, २४ जेठ ।
महाकाव्यकार डा. कृष्णराज डी.सी.द्वारा सचित ‘लक्ष्मणरेखा’ महाकाव्यमाथि विमर्श कार्यक्रम सम्पन्न भएको छ । आज शनिबार दाङको घोराहीमा आयोजित एक कार्यक्रमका बिच ‘लक्षमणरेखा’ महाकाव्यको वृहत् समीक्षा गरिएको हो ।
महाकाव्य ‘लक्ष्मणरेखा’ को नेपाल संस्कृत विश्वविद्यालयका उपप्रध्यापक किशोरचन्द्र गौतमले समीक्षा गरेका थिए । ‘नेपाली साहित्यको महाकाव्य विधामा अर्को महत्वपूर्ण ग्रन्थ भित्रिएको छ । महाकाव्यमा हुनुपर्ने गुणले सिङ्गारिएको लक्ष्मणरेखाले महाकाव्य विधालाई बलियो बनाएको छ । महाकाव्यकारले आफ्ना अनुभव र अनुभूतिलाई पाठकले आफ्नै ठान्ने गरी प्रस्तुत गर्नु महाकाव्यको बलियो पक्ष हो । महाकाव्यकारले पुत्रवियोगमा रचना गरेको लक्षमणरेखाले वियोगपश्चात हर्ष थपेको छ । महाकाव्यमा सुखान्त पक्ष पाइन्छ ।’ समीक्षक गौतमले बताए ।
कार्यक्रममा कृति लोकार्पणको अवसरमा गरिएको समीक्षाको भिडियो सामग्री तथा कमलमणि देवकोटाले निर्माण गरेको डा. कृष्णराज डी.सी.को जीवनीमा आधारित शब्दचित्र पनि देखाइएको थियो ।
सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमको अध्यक्षता, वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्य र राप्ती साहित्य परिषद् केन्द्रका प्रर्व अध्यक्ष पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपानेले शुभकामना मन्तव्य राखेका थिए भने लुम्बिनी साहित्य सङ्गम, लुम्बिनी प्रदेशका महासचिव तेजप्रसाद खनालले धन्यवाद मन्तव्य राखेका थिए । कार्यक्रम सर्वोदय पुस्तकालय तथा वाचनालय, राप्ती साहित्य परिषद् केन्द्र, लेखक संघ दाङ र लुम्बिनी साहित्य सङ्गम, लुम्बिनी प्रदेशको संयुक्त आयोजनामा सम्पन्न भएको थियो ।
राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष कमलमणि देवकोटाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव आदिम के.सी.ले गरेका थिए ।