जेसीज सप्ताह सुरु : युवाको नेतृत्व र क्षमता विकासमा महत्वपूर्ण भूमिका – Kanika Khabar
Sunday, May 24Nepali News Portal

जेसीज सप्ताह सुरु : युवाको नेतृत्व र क्षमता विकासमा महत्वपूर्ण भूमिका

    मा प्रकाशित

दाङ । दाङ महिला जेसीजको सप्ताहव्यापी कार्यक्रम ‘जेसीज सप्ताह २०२५’ सुरु भएको हो । असारको ७ गतेसम्म सञ्चालन हुने सप्ताहव्यापी कार्यक्रमको संविधानसभा सदस्य अनिता देवकोटाले शनिवार घोराहीमा उद्घाटन गरेकी हुन् ।

सप्ताहव्यापी कार्यक्रमको उद्घाटन गर्दै संविधानसभा सदस्य देवकोटाले युवाको नेतृत्व र क्षमता विकासका साथै समाज रुपान्तरणका लागि जेसीजको महत्वपूर्ण भूमिका रहेको बताइन् । युवामा सकारात्मक सोचको विकास गर्दै समाज रुपान्तरणका लागि खेलेको भूमिका चर्चा गर्दै प्रमुख अतिथि देवकोटाले भनिन्,‘युवा समाजका संवाहक हुन् । युवा सचेत भएर समाजलाई परिवर्तन गर्न लाग्नुपर्छ ।’ पछिल्लो समय युवामा नकारात्मक सोचको विकाससँगै लागुपदार्थ दुव्यर्सनीमा फस्ने गरेका घट्ना बढ्दै गएकाले त्यस्ता घट्नालाई रोक्ने गरी जेसीजले अभियान चलाउनु पर्ने बताइन् ।

उनले संविधानमा महिला र युवाका हकअधिकार सुनिश्चित भएपनि कार्यान्वयनमा ढिलाइ भएको उल्लेख गर्दै समाजमा व्याप्त असमानता र विभेद हटाउनका लागि सचेतनाका कार्यक्रम गर्न आवश्यक रहेको बताइन् । उनले अहिले पनि कतिपय कानुन समयमा निर्माण नहुँदा काम गर्न समस्या भइरहेको र त्यसको असर समाज असन्तुष्टि देखिएको भन्दै त्यसमा हटाउनका लागि समयमै कानुन निर्माण जोड दिनु पर्ने बताइन् ।

घोराही उपमहानगरपालिका–१५ का अध्यक्ष रमेशकुमार पाण्डेले युवालाई सकारात्मक सोचको विकाससँगै उद्यमशिलतामा जोड््नका लागि जेसीजको भूमिका महत्वपूर्ण भएको बताए । दाङ महिला जेसीजका संस्थापक अध्यक्ष निर्मला गौतमले व्यक्तित्वसँगै नेतृत्व विकासका लागि जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएको बताइन् ।

नेपाल पत्रकार महासंघ केन्द्रीय निवर्तमान अध्यक्ष विपुल पोख्रेलले समाजका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न जेसीजले महत्वपूर्ण भूमिका र योगदान गर्दै आएको छ । निवर्तमान अध्यक्ष पोख्रेलले पछिल्लो समय प्रविधिको विकाससँगै दुरुपयोग समेत पढेको भन्दै त्यसलाई रोक्नका लागि युवापुस्ताले सकारात्मक सोचका साथ लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा बोल्ने अन्य वक्ताले समाजमा सकारात्मक सोचको विकाससँगै युवाको नेतृत्व तथा क्षमता विकासका लागि जेसीजले महत्वपूर्ण भूमिका खेल्दै आएका बताएका थिए । जेसीजले युवाको नेतृत्व र क्षमता विकाससँगै विपद्को समयमा खेलेको भूमिकाको प्रशांसा गर्दै वक्ताले जेसीजलाई समाजसँग जोडिएर काम गर्न आग्रह गरेका थिए ।

दाङ महिला जेसीजकी अध्यक्ष अनिता ढकालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, त्रिभुवननगर जेसीज अध्यक्ष टंकबहादुर रावत, दाङ महिला जेसीजकी निवर्तमान अध्यक्ष जुनकुमारी बुढा, दाङ महिला जेसीजकी पूर्व अध्यक्ष माया पोख्रेल, संस्थापक महासचिव सरस्वती सुवेदी, सिसा संस्थाकी अध्यक्ष साजिदा सिद्दिकी, लमही जेसीज कार्यबाहक अध्यक्ष जयप्रकाश पौडेललगायतले मन्तव्य राखेका थिए ।

सप्ताहव्यापी कार्यक्रमकी मुल संयोजक लक्ष्मी घमालले कार्यक्रमको बारेमा जानकारी गराएकी थिइन् । दाङ महिला जेसीजकी कोषाध्यक्ष अर्चना शर्माले धन्यावाद ज्ञापन गरेको कार्यक्रमको सहजीकरण महासचिव भीमा डिसीले गरेकी थिइन् । जेसीजको सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन रक्तदान कार्यक्रम गरिएको छ । जसमा ३५ जना बढीले रक्तदान गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्