
दाङ, १६ साउन ।
जिल्लाको विकासका लागि साझा योजना बनाएर अघि बढ्न जिल्ला समन्वय समितिलाई सञ्चार क्षेत्रका अगुवाहरुले सुझाव दिएका छन् । उनीहरुले दशवटै पालिकालाई अपनत्व हुने गरी गौरवका योजना बनाएर जिल्लाको दीर्घकालीन विकासका लागि प्लानिङ गर्न समेत सुझाव दिए ।
जिल्ला समन्वय समितिले चौथो जिल्ला सभाको तयारीका लागि बिहीवार घोराहीमा सञ्चारकर्मीसँग आयोजना गरेको छलफल कार्यक्रममा सञ्चार क्षेत्रका अगुवाहरुले यस्तो सुझाव दिएका हुन् । जिल्लामा विकास निर्माणका काम भए पनि दशवटै पालिकाहरुलाई अपनत्व हुने गरी समन्वय गरेर काम गर्न सुझाव दिएका थिए ।
उनीहरुले बर्षेनी जिल्लामा नदीजन्य पदार्थको अवैध उत्खनन् हुने गरेको जनगुनासो आइरहेको भन्दै त्यसलाई रोक्नका लागि स्थानीय पालिकाहरुलाई जिम्मेवार गराउने गरी काम गर्न आग्रह गरेका थिए । त्यसका लागि जिल्ला समन्वय समितिलाई स्पष्ट काम, कतव्र्य र अधिकार दिनसमेत सरकारसँग आग्रह गरेका थिए ।
जिल्ला समन्वय समिति दाङका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षताको भएको कार्यक्रममा बोल्दै प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार नारायणप्रसाद शर्माले बृहतर दाङको विकासका लागि सबैसँग समन्वय गरेर योजना बनाउन आग्रह गरेका थिए ।
उनले तीन वर्षसम्म पनि जिल्ला समन्वय समितिलाई स्पष्ट अधिकार नदिनु संघीय तथा प्रदेश सरकारको कमजोरी भएको भन्दै यही कारण देखाएर पछि नहट्न समेत उनले आग्रह गरे । ‘स्पष्ट अडान र जोश देखाएर काम गर्ने हो भने कसैसँग डराउनु पर्दैन’, शर्माले भने– ‘पाएको अधिकारलाई सदुपयोग गरेर काम गर्नुहोस्, गलत काम रोकिन्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोख्रेलले जिल्ला समन्वय समितिलाई जिल्लामा आफ्नो पहिचान स्थापित गर्ने गरी विकास निर्माणका योजनाहरुको प्लानिङ गर्न सुझाव दिएका छन् । पालिकाहरुकाबीच समन्वय हुन नसक्दा आफ्नो क्षेत्रमा काम गर्ने तर संयुक्तरुपमा मिलेर काम गर्न नसकेको भन्दै विकास निर्माणको प्लानिङ गरेर पालिका–पालिकाका बीचमा समन्वयात्मक भूमिका खेल्न समेत आग्रह गरेका थिए ।
स्पष्ट भूमिका नहँदा काम गर्न समस्या भएको भए काम, कर्तव्य र अधिकारको सवालमा संविधान र कार्यविधिसँग नबाझिने नीति–नियम बनाउन समेत सुझाव दिएका थिए ।
दाङको विकासका लागि सबै पालिकाहरुका बीचमा अपनत्व हुने गरी गौरवका योजना, पर्यटन बिकासका संयुक्त लगानी, मिडिया क्षेत्रको प्रबद्र्धनका लागि प्लानिङ गरेर अघि बढ्न सुझाव दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा पूर्व अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले जिल्लाको एकीकृत विकासका लागि दीर्घकालीन योजनासँगै प्राकृतिक स्रोत र साधनमाथिको दोहन रोक्ने गरी योजना बनाउन सुझाव दिए । अहिले जिल्लाका धेरै ठाँउमा नदीहरुमाथि दोहन भएको सुनिने गरेको भन्दै यस्ता कुराहरुलाई रोक्ने गरी काम गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्ने अन्य बक्ताहरुले अनुगमनसँगै जिल्लाको विकासका लागि समन्वय समितिलाई पहल गर्न आग्रह गरेका थिए । समन्वय समिति अनुगमनमा मात्र केन्द्रित रहने गरेको भन्दै अनुगमनलाई नतिजामुखी बनाउन ध्यान दिने र त्यसका लागि योजना बनाएर अघि बढ्न आग्रह गरेका थिए ।त्यस्तै सहभागीहरुले विकास निर्माणको कामलाई मागभन्दा पनि आवश्यकताका आधार गर्ने गरी योजना प्लानिङ गर्ने गरी पालिकाहरुसँग समन्वय गरेका थिए ।
दाङलाई जोड्ने गरी रिङरोड, औद्योगिक क्षेत्र, जलस्रोतको उपयोगका लागि बबई, ग्वारखोला नदी तथा खोलाहरुमा ड्याम्म निर्माण, कला तथा संस्कृतिको विकासका लागि प्लानिङ, दाङलाई मरुभूमिकरणबाट जोगाउनका लागि पानी संरक्षण, जमिनको उपभोग नीति, कृषिको विकासका लागि अनुदान र त्यसको सदुपयोगका लागि अनुगमन गर्नेसँगै पर्यटन क्षेत्रको विकासका लागि साझा योजनाहरु बनाउन आग्रह गरेका थिए ।
जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा जिल्ला विकास सल्लाहकार परिषद्का सदस्य विकिरण गौतम, नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासन, नेपाल पत्रकार महासघ दाङका पूर्व केन्द्रीय सदस्य अजयदीप शर्मा, राप्ती पोष्ट दैनिकका सम्पादक/प्रकाशक शरद अधिकारी, पत्रकार लक्ष्मी आचार्य र पत्रकार सन्तोष सुवेदीलगायतले दाङको विकासका लागि साझा धारणा बनाउन सुझाव दिएका थिए ।