गौशाला बन्दै डम्पिङ साइट – Kanika Khabar
Thursday, March 28Nepali News Portal

गौशाला बन्दै डम्पिङ साइट

    मा प्रकाशित

खेमराज रिजाल

फूलवारी (दाङ), १६ साउन ।

जग्गा खरिद प्रक्रियादेखि फोहर फाल्ने सन्दर्भमै पनि विवादित रहेको तुलसीपुर उपमहानगरपालिका–१३ अम्बापुरको जग्गामा अन्ततः आधुनिक गौशाला बन्ने भएको छ ।

पहिलो चरणमा ६ सय गाई अटाउने क्षमताको गौशालाको बिहीवार विधिवत रुपमा शिलान्याससमेत भएको छ । तुलसीपुर उपमहानगरपालिका जनप्रतिनिधिविहीन भएको अवस्थामा तात्कालीन अवस्थामा नगरपालिका प्रशासनले सो जग्गा डम्पिङ साइटका लागि चर्को मूल्यमा खरिद गरेको थियो ।

सोही जग्गामा त्यत्तिकै क्षेत्रफलको जग्गा यहाँका युवा समाजसेवीहरुले व्यक्तिगत शेयर लगानी गरेर खरिद गरेपछि सो क्षेत्रमा आधुनिक गौशाला निर्माण हुन थालेको हो । त्यसमा तुलसीपुर उपमहानगरपालिकाको समेत प्रमुख शेयर रहेको छ । गौशाला निर्माणको शिलान्यास तुलसीपुर उपमहानगरापलिकाका कार्यबाहक नगर प्रमुख माया आचार्यले गरेकी छिन् ।

बजारमा छाडा चौपायाको समस्या, डम्पिङ साइटका लागि खरिद गरिएको जग्गा सोही प्रयोजनमा लगाउनका लागि स्थानीयहरुको विवादसँगै खालि जग्गाको सदुपयोगका लागि पनि नगरपालिका यो स्थानमा गौशाला निर्माणको अभियानमा हातेमालो गरेको उनको अभिव्यक्ति थियो । ‘यो बस्ती नजिकको स्थानमा अवैज्ञानिक रुपमा डम्पिङ साइट बनाएर हामीले यहाँका स्थानीयबासीलाई चिढ्याउन चाहेका छैनौं, त्यसैले यहाँ गौशाला निर्माण गरी यसलाई आयआर्जनमा समेत लगिने छ’, शिलान्यास कार्यक्रममा प्रमुख अतिथि आचार्यले भनिन् ।

प्रमुख अतिथि आचार्यले उपमहानगरपालिकासमेत शेयर होल्डर रहेको यो अभियानमा स्थानीयबासीको पनि साथ र सहयोगको अपेक्षा गर्दै गौशालालाई आयआर्जनको बाटोमा समेत लैजाने गरी गुरुयोजना तयार गर्न सुझाव दिइन् । ‘गोबरलाई प्राङ्गारिक मल बनाएर बिक्री वितरण गर्न सकिने छ, गौमुत्रलाई समेत प्रशोधन गरी आयुर्वेदिक औषधि र अन्य धार्मिक संस्कारमा प्रयोग गर्न सकिने वातावरण मिलाइने छ’, कार्यवाहक प्रमुख आचार्यले भनिन् ।

तुलसी गौशाला तथा सरसफाई बहुउद्देश्यीय सहकारी संस्था लि.को स्वामित्वमा सञ्चालन हुने सो गौशाला फूलवारीबासीकै गर्व हुने र यसले नयाँ खालको पर्यटनको विकास हुने तुलसीपुर उपमहानगरपालिका–१३ का वडाध्यक्ष डम्मर न्यौपानेले बताए । ‘यो सुन्दर बस्तीमा डम्पिङ साइट राख्ने हाम्रो चाहनै थिएन, त्यसलाई अब गौशालाले थप बल दिनेछ’, वडाध्यक्ष न्यौपानेले भने– ‘गौशालालाई व्यवस्थित बनाउनका लागि अव वडाले छाडा चौपायाको अभिलेखसमेत राख्ने छ ।’ सो गौशालाको धार्मिक विधिअनुसार शिलान्यास गरिएको थियो ।

गाई संरक्षण हाम्रो अभियान, स्वस्थ र समृद्ध जीवनको पहिचानको नाराका साथ तुलसी गौशालाको परिकल्पना तुलसीपुरकै स्थानीय युवाहरुले गरेका हुन् । कम्तीमा ३ बिगाहा जग्गा तुलसीपुर उपमहानगरपालिकाले लिजमा उपलव्ध गराउने सहमतिसँगै युवा समाजसेवीहरुको सक्रियतामा सहकारी गठन गरी शेयर सदस्यसमेत बनाएर थप ३ बिगाहा जग्गा सोही कित्तामै जोडिने गरी खरिद गरेपछि करिब ६ सय गाईगोरु अटाउने गौशाला निर्माणको काम शुरु हुन थालेको हो ।

७ मिटर चौडाई र ४० मिटर लम्बाईमा निर्माण हुने गौशालाको लागत मूल्य करिब ४१ लाख रुपैयाँ अनुमान गरिएको छ । सहकारीमा बचत रहेको करिब १७ लाख रुपैयाँ र अन्य दाता खोजी आधुनिक गौशाला निर्माण हुन थालेको कार्यक्रमका अध्यक्ष तथा सहकारीका अध्यक्ष मोहन भण्डारीले बताए ।

‘हामी यो सबै काम मुनाफा कमाउने व्यापारिक प्रयोजनका लागि गरिरहेका छैनौं, गाई संरक्षणको दायित्वसँगै बजारलाई छाडा चौपायारहित बनाउन पनि यो अभियानमा जोडिएका छौं’, अध्यक्ष भण्डारीले भने । गौशालामा संरक्षण गर्ने गाईको संख्या निश्चित हुने वा जति पनि राख्न सकिने भन्नेमा आफूहरुले मास्टर प्लान बनाउने तयारीमा रहेको बताउँदै अब आफूले संरक्षण गर्ने हरेक पशुको बीमा अनिवार्य गरिएको समेत बताए ।

‘तुलसीपुरमा हरेक वडामा रहेका पशुपंक्षीको अभिलेखीकरणको काम शुरु हुने हामीले अपेक्षा गरेका छौं, र गाईलाई व्यवस्थित गर्ने अठोट पनि गरेका छौं’, अध्यक्ष भण्डारीले भने । गौशालामा रहेका गाईलाई नगरबासीले चाहेको बेला गौशालालाई निश्चित चार्ज दिएर घरमा लैजान पनि सक्ने छन्, अनि घरबाट गौशालामा ल्याउँदा पनि निश्चित रकम तिर्नुपर्ने छ ।

अन्यथा छाडा चौपाया छाड्नेलाई अभिलेखका आधारमा कारबाहीसमेत गरिने गौशाला गुरुयोजनामा उल्लेख गरिएको छ । सो गौशाला शिलान्यास गर्नुअघि सो सहकारीले करिब ४ सय गाईगोरु तुलसीपुर उपमहानगरपालिका गोलौरामा जग्गा भाडामा लिएर पालन–पोषण गरिरहेको छ ।

गौशाला शिलान्यास कार्यक्रममा स्वागत मन्तव्य तथा विषयप्रवेश गराउँदै सहकारीका उपाध्यक्ष तथा फूलवारीकै स्थानीय समाजसेवी हरिहर पौडेलले सहकारीले जग्गा खरिद प्रक्रियामै करिब ८९ लाख रुपैयाँ खर्च गरिसकेको भन्दै यो स्थानलाई गौशाला पर्यटनका रुपमा अघि बढाइने बताए ।

‘अब यो स्थानमा फोहर बिसर्जन गर्ने काम हुने छैन, गाई संरक्षणको थलो एउटा फरक पर्यटन बन्नेछ’, पौडेलले भने । साथै उनले गाई संरक्षण अभियानमा स्थानीयबासीको साथ र सहयोगको पनि अपेक्षा गरे । गौशाला शिलान्यास कार्यक्रमको सहजीकरण सहकारीका व्यवस्थापक सागर रेग्मीले गरेका थिए । संस्था भए पनि यस सहकारीमा तुलसीपुर क्षेत्रमा रहेका युवाहरुले १० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म पैसा उठाएर शेयर सदस्य बनेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्