मेचीकालीमा होटल म्यानेजमेन्ट – Kanika Khabar
Monday, July 14Nepali News Portal

मेचीकालीमा होटल म्यानेजमेन्ट

    मा प्रकाशित


दाङ, १६ असार ।
दाङको घोराहीस्थित मेचीकाली सेकेन्डरी बोर्डिङ स्कुलले यस वर्षदेखि कक्षा ११ मा होटल म्यानेजमेन्टको अध्यापन गर्ने भएको छ । कक्षा १२ सम्म सञ्चालन हुँदै आएको यस विद्यालयले शैक्षिक सत्र २०८२ देखि व्यवस्थापन समूहमा होटल म्यानेजमेन्ट विषयको अध्यापन गराउन थालेको हो ।

व्यवस्थापन समूहका विषय अध्यापन गराउँदै आएको विद्यालयले होटल म्यानेजमेन्ट, फाइनान्स र कम्प्युटर वित्रानलाई ऐच्छिक विषयका रूपमा राखेको बताएको छ । ‘गतवर्ष फाइनान्स विषय अध्यापन गराएका थियौँ । यसवर्ष विद्यार्थीलाई सीपमूलक शिक्षासँग जोड्दै लैजाने उद्देश्यका साथ फाइनान्सका अतिरिक्त होटल म्यानेजमेन्ट र कम्प्युटर विज्ञानलाई पनि थप गरेका छौँ ।’ प्रिन्सिपल चक्रबहादुर रावतले थपे,‘विश्वव्यापी रूपमा शिक्षा प्रणाली व्यवहारिकता, प्रविधिमैत्रीता, बहुपरिमाणात्मक मूल्याङ्कन, र सीप विकासमा केन्द्रित हुँदै गएको छ । विद्यार्थीलाई केवल पाठ्यपुस्तकको ज्ञानमा सीमित नराखी आविष्कार, अनुसन्धान, र समस्या समाधान क्षमताको विकासमा जोड दिइँदै छ । व्यावसायिक तालिम र सेमिनारलाई जोड्दै होटल म्यानेजमेन्ट र कम्प्युटर वित्रानलाई पनि जोडेका छौँ ।’

‘होटल म्यानेजमेन्ट अध्ययन गर्नु भनेको केवल खाना बनाउने या होटल चलाउने मात्र नभई आतिथ्य संस्कृतिको विकास गर्नु पनि हो। यो एक बहुआयामिक क्षेत्र हो, जसमा व्यक्तित्व विकासदेखि लिएर अन्तर्राष्ट्रिय करियर बनाउनेसम्मका अवसरहरू समेटिएका छन्। होटल म्यानेजमेन्ट पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। गुणस्तरीय होटल सेवा पर्यटकहरूलाई आकर्षित गर्छ र मुलुकको पर्यटन विकासमा टेवा पुर्‍याउँछ।होटल म्यानेजमेन्टको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग हुन्छ। यसले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा रोजगारीका धेरै अवसरहरू सिर्जना गर्छ। सञ्चालन, व्यवस्थापन, खाना पकाउने कला, सफा–सुग्घरता, ग्राहक सेवा आदि पक्षमा दक्षता ल्याएर समग्र सेवा प्रणालीको स्तर उच्च बनाउँछ। यो विषयले आफ्नै होटल, रेस्टुरेन्ट, क्याफे, ट्राभल एजेन्सी आदि सञ्चालन गर्ने ज्ञान प्रदान गर्छ, जसले गर्दा उद्यमशीलताको विकासमा पनि योगदान दिन्छ । जसका लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ होटल म्यानेजमेन्ट विषय थप गरेका छौँ ।’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मबहादुर केसीले बताए ।

व्यवस्थापन समूहका विषय अध्यापन गराउँदै आएको विद्यालयले अङ्ग्रेजी तथा नेपाली माध्यमबाट अध्यापन गराउँदै आएको छ । बिहानी सत्रमा कक्षा सञ्चालन गर्दै आएको विद्यालयले यस वर्षदेखि दिवा सत्रमा पनि कक्षा सञ्चालन गर्न थालेको जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्