कोहलपुरमा कृष्ण सेन इच्छुकबारे गम्भीर विमर्श – Kanika Khabar
Monday, December 8Nepali News Portal

कोहलपुरमा कृष्ण सेन इच्छुकबारे गम्भीर विमर्श

    मा प्रकाशित

कोहलपुर । कोहलपुरमा शनिबार साहित्यकार कृष्ण सेन इच्छुकको सम्झना र सम्मानमा साहित्यिक विमर्श गरिएको छ । संस्थाका अध्यक्ष डा. पुष्कर रिजालले इच्छुकका रचना, चिन्तन र जीवनका विविध पक्षलाई चिनाई उनको योगदानको सम्मानका लागि कार्यक्रम गरिएको बताए ।

इच्छुक नेपाली बामपन्थी राजनीति र प्रगतिशील साहित्य एवम् पत्रकारिता गर्दागर्दै जनयुद्ध कालमा गिरफ्तारीमा परे ।लामो समय दाङको जेलमा बसेका इच्छुक अन्य जेलमा सारी सारी यातनाको सिकार बनाइए र महेन्द्र पुलिस क्लबमै उनको निधन भयो । काठमाडौँको जेलमा रहँदा उनले लेखेको बन्दी र चन्द्रागिरी उत्कृष्ट प्रगतिवादी खण्डकाव्य हो । प्युठानमा पुर्ख्यौली घर भई बाल्यकाल बिताएका इच्छुक अर्घाखाँची र दाङको देउखुरीमा बसाइ गरे ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्यसचिव सनत रेग्मीले इच्छुक सच्चा कम्युनिस्ट रहेको बताए । उनले युद्धकालीन समयमा इच्छुकसँगका भेटका रमाइला प्रसङ्ग पनि सुनाए । इच्छुकका चिन्तन र जीवनबारे बोल्दै राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरले सरल तर स्पष्ट विचार राख्ने इच्छुकका साहित्य र उनको व्यावहारिक जीवनमा समानता पाइने बताए । अर्का वक्ता डा. खोपीराम वली क्षेत्रीले इच्छुकको जीवनी, साहित्यिक योगदान र चिन्तनका विविध पक्षलाई चिनाएका थिए । कार्यक्रममा प्राज्ञ महानन्द ढकाल, साहित्यकार कल्पना पौडेल जिज्ञासु, भागवत खनाल, वागेश्वरी क्याम्पसका प्रमुख दानबहादुर हमाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । सोही कार्यक्रममा लक्ष्मण मानव, देवकी निरौला, अपिल लम्साल, दीपक शाहीलगायतका कविले इच्छुकप्रति समर्पित रचना सुनाएका थिए ।

महाकवि देवकोटा, इच्छुकसहितका अमर सर्जकहरूको सम्झनामा मौन धारण समेत गरिएको कार्यक्रममा काठमाडौँ, प्युठान, बाँके, दाङ, बर्दिया क्षेत्रका साहित्यकारहरूको बाक्लै उपस्थिति रहेको थियो ।संस्थाका अध्यक्ष डा.पुष्कर रिजालको अध्यक्षता, सहसचिव प्रकाश मरासिनीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सचिव केशव निमेषले गरेका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्