इन्टर कलेज फुटबलको उपाधि कम्प्युटर साइन्स टुबेललाई – Kanika Khabar
Monday, December 8Nepali News Portal

इन्टर कलेज फुटबलको उपाधि कम्प्युटर साइन्स टुबेललाई

    मा प्रकाशित

लक्ष्मण बस्नेत

तुलसीपुर, १५ मंसिर ।

ज्ञानज्योती फाउन्डेसन, तुलसीपुर दाङद्वारा आयोजित ज्ञान ज्योती दोस्रो इन्टर कलेज फुटबल प्रतियोगिता–२०८२ को उपाधि कम्प्युटर साइन्स टुबेलले हात पारेको छ।

फाउन्डेसन खेल मैदान गोलौरामा सोमबार भएको फाइनल खेलमा कम्प्युटर साइन्स टुबेलले ज्ञानज्योती अन्डर टेनलाई ४–२ गोलले पराजित गर्दै उपाधि आफ्नो पक्षमा पारेको हो।उपाधिसँगै विजयी टोलीले नगद २० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ। फाइनलमा सम्मानजनक प्रदर्शन गरे पनि अन्डर टेन उपविजेतामा सीमित रह्यो र उसले नगद १० हजार, कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।

कडा प्रतिस्पर्धात्मक खेलमा कम्प्युटर साइन्सका गगन खड्काले दुई गोल गरेका थिए भने किरण थापा र सुवास बुढाले एक–एक गोल गरे। उता अन्डर टेनतर्फका अनिल परियार र युबराज घर्तिले एक–एक गोल गर्न सफल भए।प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू मध्ये अन्डर टेनका सरगम थापा ‘बेष्ट प्लेयर’, कम्प्युटर साइन्सका गगन खड्का ‘हाइ स्कोरर’ तथा कम्प्युटर साइन्सकै जीवन नेपाली ‘बेष्ट किपर’ घोषित भएको फाउन्डेसनका खेल प्रशिक्षक प्रीति बहादुर गिरीले जानकारी दिए।

फाइनल तथा समापन समारोह फाउन्डेसनका सिईओ सुरेन्द्र जिसिको अध्यक्षतामा सम्पन्न भएको थियो। दाङ जिल्ला फुटबल संघका अध्यक्ष संजात धिताल प्रमुख अतिथि रहनुभएको समारोहमा दाङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष ऋषिराज लहरे विशिष्ट अतिथि हुनुहुन्थ्यो।

समारोहमा दाङ जिल्ला फुटबल संघका पूर्व अध्यक्ष सुशील श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी सुधिर गुरुङ, मञ्जित बाठा, प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, लोकतान्त्रिक खेलकुद संघ लुम्बिनी प्रदेशका उपाध्यक्ष सन्तोष वली, ज्ञान ज्योती कलेजका एकेडेमिक को–अर्डिनेटर सरद गौतम, आदर्श एकेडेमीकाका प्रिन्सिपल बसन्त टण्डन, सुरज वली लगायतको उपस्थिति थियो। कार्यक्रमको सञ्चालन ज्ञान ज्योतीका सन्तोष केसीले गर्नुभएको थियो।

पाँच दिनसम्म चलेको प्रतियोगितामा फाउन्डेसनअन्तर्गत रहेका तीन कलेजका विभिन्न संकायका १३ टिमले सहभागिता जनाएका थिए।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्