दाङ, २१ मङ्सिर ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) दाङका ३५ औँ साधारणसभा तथा दोस्रो जिल्ला परिषद् भेला आगामी पौष ३ र ४ गते हुने भएको छ । प्याब्सन दाङले दोस्रो परिषद् भेलालाई दुई चरणमा विभाजन गरेको छ ।
भेलालाई उपलब्धिमूलक तथा प्रभावकारी बनाउन दुई चरणको कार्यक्रमको आयोजना गरिएको प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपानेले जानकारी दिएका छन् । पौष ३ गतेको कार्यक्रमलाई प्रशिक्षण केन्द्रित बनाइएको अध्यक्ष न्यौपानेले बताए । ‘विगतका वर्षमा गर्दै आएको कार्यक्रमभन्दा केही भिन्न कार्यक्रमको आयोजना गर्न थालेका छौँ । कुनै पनि संस्थाको नेतृत्व गर्नेहरुका लागि पौष ३ र ४ गतेको प्रशिक्षण उपलब्धिमूलक हुने अपेक्षा गरेका छौँ । जीवन सिकाइ हो । सिकेरे कहिल्यै पनि नसकिदो रहेछ । हामी अपडेट भइरहनुपर्छ । अपडेटको अस्त्र भनेको प्रशिक्षण नै हो ।’ अध्यक्ष न्यौपानेले थपे, ‘पौष ३ गते प्रिन्सिपलहरुका लागि नेतृत्व विकास तथा विद्यालय व्यवस्थापन विषयमा प्रशिक्षण हुने छ । पौष ४ गते भाइस प्रिन्सिपल तथा कोअर्डिनेटरका लागि नेतृत्व विकासमै केन्द्रित रहेर प्रशिक्षण कार्यक्रमको आयोजना गरेका छौँ । यस्ता प्रशिक्षणले हाम्रो नेतृत्व शैलीमा केही परिवर्तन अवश्य ल्याउने छ भन्ने अपेक्षा गरेका छौँ ।’
प्याब्सन दाङको दोस्रो जिल्ला परिषद्मा सदस्य विद्यालयका प्रतिनिधिहरुलाई साङ्गठनिक प्रशिक्षण पनि आयोजना गरिएको छ । पौष ४ गते प्याब्सनका केन्द्रीय महासचिव आरबी कटवालले साङ्गठनिक प्रशिक्षण दिने भएका छन् । साथै महासचिव कटवालले प्याब्सनका भावी रणनीतिका बारेमा पनि प्रशिक्षण दिने छन् । कटवाल सङ्गठनमा अब्बल मान्निछन् ।
साथै नेतृत्व विकास तथा विद्यालय व्यवस्थापनको प्रशिक्षण डाइनामिक प्रशिक्षक कुमार थापाले दिने छन् । थापा पछिल्लो चरणमा अब्बल प्रशिक्षक कहलिने गरेका छन् । करिब तीन दशक शिक्षा क्षेत्रमा अनवरत क्रियाशील थापा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रशिक्षकका रुपमा चिनिन्छन् । बृहस्पति विद्यासदनका प्रिन्सिपल समेत रहेका थापा एक प्रमाणित अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रम सहजकर्ता र उदीयमान शिक्षा नेतृत्व प्रशिक्षक पनि हुन् । उनले पौष ३ गते प्रिन्सिपल र पौष ४ गते भाइस प्रिन्सिपल तथा कोअर्डिनेटरका लागि प्रशिक्षण दिने प्याब्सन दाङले जनाएको छ ।


