
काठमाडौं। आज सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि किसानले उत्पादन गर्ने धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ६ सय २० रुपैयाँ निर्धारण गरेको छ । बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ६२० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ । प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान रकम पनि कायम गर्ने निर्णय गरेको छ।
बैठकले २०८१ चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको प्रदर्शनका क्रममा घाइते भई उपचारका क्रममा निधन भएका पत्रकार सुरेश रजकलाई सहिद घोषणा गर्ने निर्णय गरेको छ।
बैठकले २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिहरूलाई राहत र सहायता उपलब्ध गराउने कार्यविधि २०८२ स्वीकृत गरेको छ।
बैठकले देशका १० वटा जिल्लाका ३१ हजार १ सय २७ गरिब परिवारको सूची स्वीकृत गरेको छ। इलाम, झापा, पाँचथर, स्याङ्जा, म्याग्दी, तेह्रथुम, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पर्वत, मोरङ र सुनसरी जिल्लाका गरिब परिवारको पहिचान गरी सूचीकृत गरेको हो ।
यसैगरी, सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (दोस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ।
बैठकले नेपाल प्रशासन सेवातर्फको रिक्त सचिव पदमा सहसचिव राजेन्द्रकुमार पौडेललाई बढुवा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन् ।



