काठमाडौं । नेपाली काङ्ग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमा एक सन्देश लेख्दै भण्डारीले सभापति पदप्रति आफ्नो आकांक्षा ‘स्पष्ट’ रहेको जनाएका हुन्।
‘नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदप्रति मेरो आकांक्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित’ उनले लेखेका छन् ‘तर देश जनता ,प्रजातन्त्रको हित र संगठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म—जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु। साथीहरूको सुझाव , समयको माग र राजनीतिक बजार लाई सम्मान गर्दै कदम चाल्न पर्दछ।’
यसअघि नेपाली काँग्रेसका महामन्त्री गगन थापाले पनि सभापतिका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए। एक टेलिभिजन अन्तर्रवार्ताका क्रममा उनले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।
त्यस्तै नेपाली काँग्रेसका नेता शेखर कोइराला यसअघि देखि नै सभापतिको दौडमा लागिरहेका छन्। १४ औं महाधिवेशनमा पनि कोइराला अहिलेका सभापति शेरबहादुर देउवासँग दोस्रो चरणसम्म लडेका थिए।
लामो विवाद र बहसपछि नेपाली काँग्रेसले यही पुस २७ देखि १५ औं महाधिवेशन गर्ने निर्णय गरेको हो। त्यसका लागि पार्टीले निर्वाचन समिति बनाएर काम पनि अघि बढाइसकेको छ।


