रानीपोखरीमा आकाशे पानी पहिलो प्राथमिकता : ज्ञवाली – Kanika Khabar
Friday, April 26Nepali News Portal

रानीपोखरीमा आकाशे पानी पहिलो प्राथमिकता : ज्ञवाली

    मा प्रकाशित

कनिका खबर
साउन २२, काठमाडौं

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले रानीपोखरीमा पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयहरुबीच हिजो बुधबार भएको अन्तरक्रियामा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले रानीपोखरीमा आकाशे पानीलाई पहिलो प्राथमिकता दिइएको बताउनु भयो । रानीपोखरीको पिंध र वरिपरिको पर्खाल पुनर्निर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको छ । दरबार हाइस्कूल, त्रिचन्द्र कलेज लगायतका क्षेत्रबाट पानी हार्भेष्टिङका लागि काम जारी छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विकल्पका रुपमा मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिप बोरिङ र मेलम्चीको पानी रहेको जानकारी गराउनुभयो । अन्तरक्रियामा पूर्वसचिव एवम् जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी संकलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिनुभयो । उहाँले डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने बताउनुभयो । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताउनुभयो । सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह तथा खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाव दिनुभयो । उहाँले डिप ट्युवेलहरु प्रयोग नगर्न सुझाव दिनुभयो । संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले परम्परागत इञ्जिनियरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपायहरु अपनाउँदै पानी भर्न आग्रह गर्नुभयो । यस्तै सुशील श्रेष्ठले पोखरी सफा गर्न दुईवटा निकास राख्न सुझाव दिनुभयो । स्थानीय गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधिहरू व्युँताउने उपायतिर लाग्न आग्रह गर्नु भएको थियो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्