हामी बुख्याँचाहरु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

हामी बुख्याँचाहरु

    मा प्रकाशित


लोकतान्त्रिक गणतन्त्रको फाँटहरुमा
लहलह पहेँलपुर भई झुल्ने भनिएका
समृद्धिका वालीनालीहरुको
सधै रखवारी गर्नका लागि भनी
डिलहरुमा ठिंग ठड्याईएका
हामी बुख्याँचाहरु
हिमाली भोटो, पहाडी टोपी अनि
मधेशको धोतीलाई राष्ट्रवादको धागोले सिएर
कृतिम कंकालमा लपेटी बनाईएका
हामी निर्जिव आकृतिहरु
समृद्धिको वालीनालीहरुभित्र पसेर
काला कर्तुतहरु गर्ने काला कौवाहरु
हामीलाई देखेर हिच्किचाउँदै गर्दा
हठात् ति समृद्धिका फाँटहरुमा
राजनैतिक दाऊपेचको हलो चलाई
राजनितिको खोल ओढी
पटक पटक राष्ट्रघात गर्न पल्केका दलालहरुले
प्लटिङ गरी चिरा चिरा पारे
झुठ र आश्वासनको खेती भयो
भ्रष्टाचारका रूखहरुले जरा गाडे
एकोहोरो पार्टीका नाराहरु भट्याउने
रटन्ते सुगाहरु सल्बलाए
कौवाहरुलाई हर्षको बेल पाक्यो
बिष्मात त केवल हामी बुख्याँचाहरुलाई
हामी बबुरो बुख्याँचाहरु
स्वाचालित हुन नजानेका हामी
जहिले पनि अरुद्वारा नै परिचालित
अरुले जस्तो ढाँचो दिए, त्यस्तै हामी
अरुले जता फर्काइदिए, त्यतै हामी
न त सोच्न सक्छौँ, न त बोल्न नै
जता हावा चल्छ, उतै ढल्किन्छौँ
कहिले यता, कहिले उता
राजनैतिक कलहबाट मौलाएका सलहहरु
कालो धनले मोटाएका काला कौवाहरु अनि
पार्टिको मात्र भक्तिगान गाउने टट्टु पट्टु सुगाहरु
एकसाथ हामी माथि जाईलाग्दा
हाम्रो भोटो फाट्यो, धोती फुस्कियो
अनि हाम्रो टोपीमा कौवा र सुगाहरुले गुँड बनाई
बच्चा कोरली बथान बढाए
लोकतान्त्रिक गणतन्त्रको मलिलो फाँटहरुमा
पहेँलपुर लहलह झुलेका समृद्दिका वालीनालीहरु
क्षणभरमै सखाप पार्ने विनाशकारी झुन्डहरुलाई
टुलुटुलु हेरिरहन र सधैँ झेलिरहन विवश
कठैबरा हामी बबुरा बुख्याँचाहरु

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्