कनिका खबर
साउन २६, सिन्धुली
स्वास्थ्यकर्मीका अभिभावकमा कोरोना सङ्क्रमण देखिएपछि आजबाट सिन्धुली अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ । अस्पतालकै कर्मचारीका बाबुमा कोरोना देखिएपछि आपत्कालीन बाहेकका सेवा बन्द गरेर ‘कन्ट्याक्ट ट्रेसिङ’ गर्न थालिएको अस्पतालले जनाएको हो । हिजो कमलामाई नगरपालिका–१४ स्थित वन तथा पर्यावरण गण रानीवासका चार सैनिकसहित ६ जनामा कोरोना पुष्टि भएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय प्रमुख जितेन्द्र शाहका अनुसार पर्यावरण गणमा कार्यरत ३३, ३७, ३७ र ३८ वर्षका चार जना पुरुष, कमलामाई नगरपालिका वडा नं. ६ मा रहेको क्वारेन्टाइनमा रहेका तिनपाटन चारका २२ वर्षका पुरुष र एक जना सिन्धुली अस्पतालको ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका अविभावकलाई कोरोना सङ्क्रमण पुष्टि भएको हो । साउन २१ गते प्रादेशिक प्रयोगशाला हेटौडामा परिक्षणका लागि पठाइएका २४ वटा नमुनामध्ये ६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख शाहले जानकारी दिनुभयो । सिन्धुलीमा यति धेरै संक्रमण एकै पटक भेटिएको यो पहिलो पटक हो । हिजो कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये नेपाली सेनाका चार जना घर विदामा गई फर्केर क्वारेन्टाइनमा बसेका व्यक्ति हुन् ।