कनिका खबर
साउन २९, लमजुङ
लमजुङमा केन्द्रीय सरकार र प्रदेश सरकारले आर्थिक बर्ष २०७६÷०७७ को लागि पठाएको रकममध्ये २ अर्ब २२ करोड २२ लाख २० हजार बजेट फ्रिज भएको छ । लमजुङलाई केन्द्रीय सरकार र प्रदेश सरकारबाट कुल ८ अर्ब ९० करोड ५४ लाख १ हजार बजेट प्राप्त भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङका प्रमुख भगवानप्रसाद उप्रेतीले बताउनुभयो । उहाँका अनुसार प्राप्त भएको रकममध्ये २ अर्ब २२ करोड २२ लाख २० हजार रुपैयाँ बजेट फ्रिज भएको हो । लमजुङमा केन्द्रीय सरकारबाट ६ अर्ब ७ करोड ७ लाख ५५ हजार रकम बजेट प्राप्त भएकोमा ९८ करोड २५ लाख २१ हजार रकम खर्च हुन नसकी फ्रिज भएको प्रमुख उप्रेतीले बताउनुभयो । यस्तै प्रदेश सरकारबाट २ अर्ब ८३ करोड ४६ लाख ४६ हजार बजेट प्राप्त भएकोमा १ अरब २३ करोड ९६ लाख ९० हजार बजेट फ्रिज भएको छ ।
लमजुङमा गत बर्ष कूल बजेटमध्ये ७५ दशमलव २ प्रतिशत रकम मात्र खर्च भएको छ भने २४ दशमलव ८ प्रतिशत रकम खर्च भएको छैन । आर्थिक बर्ष २०७६÷०७७ मा जिल्लाका सरकारी कार्यालयहरूमा संघ र प्रदेश सरकारबाट प्राप्त बजेट ८ अर्ब ९० करोड ५४ लाख १ हजार मध्ये ६ अर्ब ६८ करोड ३१ लाख ८१ हजार रुपैयाँ मात्र खर्च भएको छ । जिल्लाका सरकारी कार्यालयमा संघबाट प्राप्त भएको ६ अब ७ करोड ७ लाख ५५ हजार रकममध्ये ५ अर्ब ८ करोड ८२ लाख ३४ हजार रकम खर्च भएको छ । संघतर्फको कूल बजेटमा ८३ दशमलव ८२ प्रतिशत मात्र खर्च भएको छ । प्रदेश सरकारबाट जिल्लाका सरकारी कार्यालयमा प्राप्त भएको २ अर्ब ८३ करोड ४६ हजार ४६ लाख बजेटमध्ये १ अर्ब ५९ करोड ४९ लाख ४७ हजार अर्थात् ५६ दशमलव २७ प्रतिशत रकम खर्च भएको छ । यस्तै गएको आर्थिक बर्ष २०७५÷०७६ मा १ अर्ब ५० करोड ९० लाख ६५ हजार बजेट फ्रिज भएको थियो ।
कोरोना भाइरस कोभिड १९ का कारण लकडाउन भएकाले कर्मचारीको अपर्याप्तता र समयमै योजना कार्यान्वयनमा चासो नभएका कारण जिल्लाबाट ठुलो रकम बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख उप्रेतीले बताउनुभयो ।