कनिका खबर
साउन ३०, दाङ ।
कोभिड–१९ को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा भदौ एक गतेदेखि आठ गतेसम्म राती पूर्णरुपले बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय दाङमा आज बसेको संकट व्यवस्थापन केन्द्रको वैठकले यही भदौ एक गतेदेखि आठ गतेसम्म साँझ सात बजेदेखि विहान पाँच बजेसम्मका लागि निशेधाज्ञा जारी गरिएको हो । वैठकले रातिको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने निर्णय गरेको छ । बजारलाई व्यवस्थित गर्न अनिवार्य रुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, भौतिक दुरी कायम गर्ने, माइकिङ लगायतका कार्य गर्ने, यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गराउने निर्णय गरेको छ ।
जिल्लामा सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहसहितको जिल्ला अनुगमन समिति गठन गरेको वैठकमा सहभागि नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले जानकारी दिए । यस विषयमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दाङलाई कोभिड–१९ बाट मुक्त राख्नका लागि राती पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजी गरिएको बताए । बैठकमा चाडपर्वको नाममा समाजमा बढी रहेको भिडभाडलाई कम गर्नका लागि जुन सुकै समयमा हुने नाँचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पनि पूर्णरुपले रोक लगाउने, मठ मन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको छ ।
मा प्रकाशित