आदिवासी सपना – Kanika Khabar
Saturday, April 20Nepali News Portal

आदिवासी सपना

    मा प्रकाशित

अचेल
निदाउनै पाउँदैनन्
उसका एकजोर सुत्केरी आँखाहरु

उसले भर्खरै त जन्माएकी छे
फेरि एउटा आदिवासी सपना

नलागोस् विभेदको सर्दी भनेर
बालेकी छे सडकमा टायर
जसको तापमा हुर्कंदो छ
आदिवासी सपना

जन्माउन त
पहिलेपहिले पनि जन्माएकै हो उसले सपना
ओढाएकै हो
आदिम सभ्यताको बर्को
तर राज्य यति निर्मम भैदियो कि
आफ्नो पूर्वाग्रहको शीतलहरले
चरक्क चिरिदियो आदिवासी छाती
र गरिदियो हत्या दिनदहाडै

उसले हार्न मानिन
त्यसैले
जन्माइरही अरुअरु सपनाहरू
उडाइरही ताम्बाका मन्त्रहरु बतासमा
बजाइरही चेतावनीका डम्फुहरु
गाइरही विद्रोहका सेलोहरु
लेखिरही इतिहास रगतका अक्षरहरुले
र पढाइरही नवपुस्तालाई स्वाभिमानी पाठहरु
बुझाइरही पटकपटक जन्माउनुपरेका यावत कारणहरु

एउटा पट्यारलाग्दो युग सक्किँदो छ
यसपटक घाम उदाएको छ
सडक तातिएको छ
शीतलहर थामिएको छ
एउटा आदिवासी युवा
लगाएर पातलो धोती
उभिएको छ यही राज्यको सिमानामा
के उसले वयस्क हुन पाउला रु

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्