सांसदलाई लिम्पियाधुरा समेटिएको नक्सासहितको नयाँ लोगो हस्तान्तरण, एउटा लोगोमा पाँच हजार पाँच सय २७ रुपैंया खर्च – Kanika Khabar
Thursday, April 25Nepali News Portal

सांसदलाई लिम्पियाधुरा समेटिएको नक्सासहितको नयाँ लोगो हस्तान्तरण, एउटा लोगोमा पाँच हजार पाँच सय २७ रुपैंया खर्च

    मा प्रकाशित

कनिका खबर
साउन ३२, दाङ ।
नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको लोगो संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण गरिएको छ । संघीय संसदका महासचिव डा.भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहाललाई लोगो हस्तान्तरण गरेका हुन् । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आजदेखि नयाँ लोगो लगाउन थालेका छन् ।
गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका माननीय सदस्यले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो । कार्यव्यवस्था परामर्श समितिको निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो । दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा एक तोला चाँदीको बेस र तीन दशमलव पाँच सेन्टिमिटर व्यास रहेको छ । लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो पाँच हजार पाँच सय २७ रुपैंया खर्च लागेको महासचिव गौतमले जानकारी दिए । संघीय संसदका सदस्यलाई समेत नयाँ नक्सा अंकित लोगो तत्कालै उपलब्ध गराइनेछ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्