कनिका खबर
भदौ १, काठमाडौं
नेपाल–भारत संयुक्त अनुगमन संयन्त्रको आठौँ बैठक भर्चुअल रूपमा आज बस्ने भएको छ । द्विपक्षीय सहयोगमा सञ्चालित परियोजनाको समीक्षा गर्न बस्न लागेको बैठकमा नेपाली पक्षको नेतृत्व परराष्ट्र सचिव शंकरदास बैरागीले गर्नुहुनेछ ।
भारतीय पक्षको नेतृत्व भने नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले गर्नुहुने जनाइएको छ । भर्चुअल बैठक विशेषगरी भारतको सहयोगमा सञ्चालनमा रहेका परियोजनाहरूको प्रगतिमा केन्द्रित हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । संयन्त्रको सातौं बैठक ८ जुलाई २०१९ मा काठमाडौंमा भएको थियो । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको सेप्टेम्बर २०१६ मा सम्पन्न भारत भ्रमणका क्रममा भएको सहमतिअनुसार संयन्त्र गठन भएको हो ।
हुलाकी राजमार्ग, अन्तरदेशीय रेलमार्ग लगायतका भारतीय सहयोगका परियोजना वर्षौंसम्म सम्पन्न नहुनेलगायतका समस्या देखिएपछि प्रधानमन्त्री तहको बैठकमा उक्त संयन्त्र गठन गर्ने निर्णय गरिएको थियो ।
संयन्त्रको कार्यादेश द्विपक्षीय परियोजनाको कार्यान्वयन मूल्यांकन र समयमै सम्पन्न गर्नका लागि आवश्यक निर्णय लिने रहेको छ ।