कनिका खबर
भदौ २, दाङ ।
नेपाल राष्ट्र बैंकले डेढ महिनाको समय दिएर पुनर्कर्जाको लागि आवेदन आह्वान गरेको छ ।
हिजो सोमबारदेखि खुला भएको आवेदनका लागि असोज १४ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जनाएको छ । सस्तो ब्याजदका कुल एक सय अर्बसम्म ऋण प्रवाह गर्ने भएकोले राष्ट्र बैंकको यो आह्वानलाई महत्त्वपूर्ण मानिएको छ ।
े मौद्रिक नीतिले व्यवस्था गरेबमोजिम कोभिड प्रभावित उद्योग व्यवसायलाई सहुलियत दिएर पुनरुत्थान गर्ने हिसाबले यस्तो कार्यविधि ल्याइएको राष्ट्र बैंकले बताएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको क्षेत्रमा ऋण प्रवाह गरेबापत राष्ट्र बैंकले बैंकहरुलाई दिइने कर्जा नै पुनर्कर्जा हो । राष्ट्र बैंकले अहिले ३ भागमा वर्गीकरण गरेर पुनर्कर्जा वितरण गर्नेगरी कार्यविधि तयार पारेको छ ।
लघु घरेलु तथा साना उद्योग पुनर्कर्जाबापत १५ लाख रुपैयाँसम्मको पुनकर्जा दिन्छ । यसमा नेपाल राष्ट्र बैंकले बैंकहरुसँग २ प्रतिशत ब्याजदर लिन्छ भने बैंकहरुले ग्राहकलाई ५ प्रतिशत ब्याजदरमा ऋण दिने व्यवस्था गरिएको छ ।
त्यस्तै, विशेष पुनर्कर्जा निर्यातजन्य उद्योग, महिला तथा अपांग व्यक्तिले सञ्चालन गरेको उद्योग तथा प्राकृतिक प्रकोपबाट प्रभावित उद्योगहरुलाई प्रदान गरिन्छ । यस्तो पुनकर्जाबापत राष्ट्र बैंकले बैंकहरुसँग १ प्रतिशत ब्याजदर लिन्छ भने बैंकहरुले ३ प्रतिशतमा लगानी गर्नुपर्नेछ ।
साधारण पुनकर्जाको लागि भने राष्ट्र बैंकले बैंकहरुसँग ३ प्रतिशत लिनेछ भने बैंकहरुले ग्राहकसँग ५ प्रतिशत ब्याज लिएर कर्जा प्रवाह गर्नुपर्नेछ । विशेष र साधारण पुनकर्जाको सीमा २० करोड तोकिएको छ । ग्राहकलाई एकमुष्ट रुपमा प्रवाह हुने कर्जाको सीमा ५ करोडमात्रै हुनेछ । बैंकले ग्राहक अनुसार मूल्यांकन गरी दिइने पुनकर्जाको सीमा २० करोडसम्म हुने राष्ट्र बैंकको कार्यविधिमा उल्लेख गरिएको छ ।