वीरेन्द्र रावल
धनगढी, भदौ ३ ।
कोरोना कहर सँगसँगै सुदूरपश्चिम प्रदेशमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति हुने क्रम रोकिएको छैन । यसैक्रममा अविरल बर्षापछि मंगलबार राति १ बजेको समयमा आएको प्रलयकारी बाढीमा परेर अछाम जिल्लाको रामारोशन गाउँपालिकामा निकै ठूलो जनधनको क्षति पुगेको छ ।
मानिसहरु घरमा सुतिरहेको समयमा माथिबाट उर्लेर आएको कैलाश खोलाले २३ जनाको ज्यान जाने गरी सुतेका मानिसहरुलाई भेलसँगै बगाएर लगेको छ ।
प्राप्त समाचार अनुसार रामारोसन गाउँपालिका वडानम्बर – ५ कैलाश खोलामा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जना मध्ये बुधबार साँझ सम्म ६ जनाको शब भेटिएको छ । शब भेटिएका मध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार सनाखत भएकाहरुमा रामारोशन गाउँपालिका–५ बस्ने वर्ष १५ को नबिन साउद, सोही वडा बस्ने वर्ष ३३ की गौरी शाह तथा वर्ष ४८ का चन्द्र साउद रहेको पहिचान खुलेको छ । शब भेटिएका अन्य तीन जनाको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका निमित्त प्रदेश प्रहरी प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार उक्त खोलाको बाढीमा परी बगेर बेपत्ता हुनेहरुमा रामारोशन गाउँपालिका – ५ बस्ने वर्ष ४७ को नन्दु साउद, वर्ष ४५ की गंगा साउद, वर्ष १७ को रुपेश साउद, वर्ष ६ की प्रकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ को अम्मर शाह, वर्ष ४० की पबित्रादेबी शाह, वर्ष ४ को समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ को बासु साउद, वर्ष ४५ की लालसरा शाही, वर्ष ८ की बसन्ती शाही रहेका छन् । बेपत्ता भएकाहरु मध्ये दुई जनाको नाम नखुलेको प्रहरीले जनाएको छ ।
बगेर बेपत्ता भएकाहरुको खोजी कार्यका लागि बुधबार दिउँसोदेखि नेपाली सेनाको एआइ १७ नामक हेलिकप्टर परिचालन भएको थियो । मंगलबार राति कैलाश खोलामा आएको बाढीले सैनीबजारमा रहेका ३० वटा पशल सहित १७ जना बगाएको थियो । बुधबारसम्म पनि खोलामा आएको बाढी कम नभएका कारण हराई रहेका व्यक्तिहरुको खोजी कार्यमा समस्या सृजना भैरहेको कुरा अछामका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
कैलाश खोलाको उल्लेर आएको बाढीले मानवीय क्षतिका साथ साथै गोठमा बाँधिएका सयौंको संख्यामा गाई गोरु समेत बगाएर लगेको छ भने खेतीयोग्य जमिन बगाएर अन्नबाली समेत पूर्ण रुपले नष्ट भएको छ । बाढीका कारण कैलाशखोलामा निर्माण भैरहेको पक्की पुलमा क्षति पुगाउनुका साथ साथै रामारोशन जाने सडक दर्जनौं स्थानमा भत्किएको बताइएको छ । कैलाश खोलामा बगेर बेपत्ता भएका मानिसहरु मध्ये घटनास्थल आसपास फेलापरेकाहरुको अधिकांश सबहरु रुख र ढुंगाले च्यापिएको अवस्थामा भेटिएको पनि प्रमूख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।
यसैगरी बुधबार नै बझाङको बुंगल नगरपालिका–५ मिडीमा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ वर्षीय सचिन ताम्राकार र ५ वर्षीय सुदीप ओखेडा रहेका प्रमुख जिल्ला अधिकारी कमल राज भण्डारीले जानकारी दिएका छन् ।
पहिरोले स्थानीय पिपला ताम्राकारको घर बगाउँदा उनका छोरा र आफन्तको मृत्यु भएको हो । ४० वर्षकी पिपला, उनकी छोरीहरु १८ वर्षकी छोरी सुनिता र १२ वर्षकी सन्तोषी र छोरा १६ वर्षका अनिल घाइते भएका छन् । घाइते चारै जनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।
बाजुरामा पनि बाढी पहिरोमा परेर २ जनाको मृत्यु भएको छ । खप्तड छेडेदह गाउँपालिका– १ मा मीनबहादुर बुढाको घर पहिरोले पुरिँदा ३ वर्षकी छोरी सुमिका बुढाको मृत्यु भएको छ । उनकै ५ वर्षकी छोरी विनिता, आमा ६५ वर्षकी नन्दादेवी घाइते भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुरामै बडिगाढ र धूपे खोलामा आएको बाढीमा बगेर ७५ धिनु लुहारको मृत्यु भएको प्रहरी नायव उपरीक्षक टंकराज भट्टराईले जानकारी दिएका छन् । बाजुराका भूपे, बड्डी गाढ खोलामा आएको बाढीले २० घर डुबानमा परेको जनाएको छ । क्षतिको एकीन विवरण आइसकेको छैन ।
बैतडीमा घरमाथिबाट खसेको पहिरोले घर पुरिँदा ४ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका ५ मडका वीरबहादुर मडैको घरमाथि पहिरो खस्दा एकै परिवारका चार जना घाइते भएका हुन् ।
पहिरोमा परेर वीरबहादुर मडै, उनकी श्रीमती सुन्दरी, छोरीहरू सरस्वती र पार्वती घाइते भएका रौलेश्वर प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनसिंह धामीले बताए ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका निमित्त प्रहरी प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंहले बाढी पहिरोले यस वर्षकै सबै भन्दा धेरै मानवीय क्षति बुधबार भएको बताएका छन् ।
‘३ जिल्लामा अहिलेसम्म १० जनाको मृत्यु भइसकेको छ ४ जिल्लामा १० जना घाइते छन् त्यतिकै संख्यामा बेपत्ता पनि छन’ उनले ‘ २०७७ सालकै सबै भन्दा ठूलो प्राकृतिक विपत्ति आएको हो ।’ २ महिनामा ६३ जनाको ज्यान गएको छ ।
सुदूरपश्चिम प्रदेशमा २ महिनाको अवधिमा बाढी पहिरोमा परी ६३ जनाको मृत्यु भएको जनाइएको छ ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार असार १ गतेपछि अछाममा १० जनाको मृत्यु भइसकेको छ । बुधबार ६ जनाको मृत्यु भएको हो ।
बझाङमा मात्रै २ महिनामा १५ जनाले ज्यान गुमाएका छन् । दार्चुलामा ९, कैलालीमा ८, डोटीमा ६, बाजुरामा ५, बैतडी र कञ्चनपुरमा २र२ जनाको मृत्यु भएको छ ।
बाढी पहिरो, चट्याङ आगलागी लगायतका घटनाबाट २ महिनाको अवधिमा करिब ठूलो धनजनको क्षति भएको छ ।
पहाडी जिल्लाहरुमा अवैधानिक र अवैज्ञानिक रुपले भिरालो जमिनमा डोजरको प्रयोगका कारण जमिनको सतह खलबलिनुका साथ साथै नदीजन्य पदार्थको उत्खनन र दोहोनका कारण वातावरणीय समस्या सिर्जना हुन पुगेको देखिन्छ ।