कोभिड-१९ को गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा – Kanika Khabar
Friday, April 19Nepali News Portal

कोभिड-१९ को गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा

    मा प्रकाशित

कनिका खबर

दाङ, ३ भदौ ।

विश्वव्यापीरुपमा फैलिएको कोरोनाभाइरस संक्रमण (कोभिड-१९) को गम्भीर असर नेपालको पत्रकारिता क्षेत्रमा देखिएको छ । नेपाल प्रेस इन्स्टिच्युट र संयुक्त अधिराज्यस्थित बर्नमोथ विश्वविद्यालले संयुक्तरुपमा सञ्चालन गरेको राष्ट्रिय सर्वेक्षणले कोरोना भाइरसका कारण पत्रकारहरुलाई मनोवैज्ञानिक र आर्थिकरुपमा गम्भीर असर पारेको र सञ्चार माध्यमका सामग्रीको उत्पादनसमेत घटेको देखाएको छ ।

बुधबार काठमाडौंबाट भर्चुअल समारोहकाबीच अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेका थिए । मन्त्री खतिवडाले प्रतिवेदनले पत्रकारहरुलाई आर्थिक कठिनाई पारेको कुरा तथ्यगतरुपमा देखाएको बताउँदै सरकारले समाचार संस्थाहरुसँग छलफल गरी कोरोना राहत कोषबाट पत्रकारहरुलाई सहयोग गर्न सकिने बताए । समाजलाई प्रेरणा दिने पत्रकारहरु नै जोखिम, चिन्ता र चरम निराशामा पर्नु दुखद् विषय भएको उल्लेख गर्दै उनले बीमा र अन्य भौतिक सुरक्षा पत्रकारहरुलाई प्रदान गर्ने दायित्व मिडियाको पनि भएको र यसका लागि सहयोग गर्न सरकार तयार रहेको बताए ।

त्यसैगरी नेपाल पत्रकार महासंघको अध्यक्ष गोविन्द आचार्यले पत्रकार महासंघले पनि कोभिड १९ ले पत्रकारहरुमा पारेको प्रभावबारे अनुसन्धान गर्न लागेको बताउँदै सार्वजनिक प्रतिवेदनले आगामी खोजअनुसन्धानलाई आधार सिर्जना गरेको उल्लेख गरे । समाचार संस्थाहरुलाई गर्दै २०७७ असार २६ देखि साउन ९ गतेसम्म देशका सातवटै प्रदेशबाट सबै खालका मिडियाको प्रतिनिधित्व हुनेगरी १,१३४ जना क्रियाशील पत्रकारहरुका बीचमा गरिएको सो सर्वेक्षणले अधिकांश पत्रकारहरुको मानसिक स्वास्थ्यमा असर पुर्‍याएको देखाएको छ ।

सर्वेक्षणमा सहभागी ८३ प्रतिशत पत्रकारहरुले जोखिमको अनुभूतिमा वृद्धि भएको, ७५ प्रतिशत पत्रकारहरुले चिन्ता बढेको र ६२ प्रतिशत पत्रकारहरुले आफूहरु दुःखमा परेको अनुभुति भएको प्रतिक्रिया दिएका छन् । २५ प्रतिशत पत्रकारले आफूहरु चरम निराशाबाट ग्रसित रहेको समेत उल्लेख गरेका छन् ।

त्यस्तै पत्रकारहरु चरम आर्थिक मारमा परेको सर्वेक्षणको नतिजाले देखाएको छ । सर्वेक्षणमा सहभागी ७४ प्रतिशत पत्रकारहरु आर्थिकरुपमा प्रभावित भएका छन् जसमध्ये ३८ प्रतिशतले आफूहरु पारिश्रमिक कटौतीमा परेको बताएका छन् । कोरोनाले सबै खालमा समाचार प्रकाशन तथा प्रसारणलाई उल्लेखनीय प्रभाव पारेको छ । उत्तरदाताले प्रसारण, श्रव्य तथा श्रव्यदृश्य सामग्रीको उत्पादन घटेको प्रतिक्रिया दिएका छन् । छापा माध्यमहरुको पनि प्रकाशन आवृत्ति (फ्रीक्वेन्सी) तथा पृष्ठ दुबै घटेको पाइएको छ ।

केही प्रकाशनहरु डिजिटल माध्यममा मात्र सीमित भएका छन् । छापा माध्यममा कार्यरत ५५ प्रतिशत उत्तरदाताले आफू कार्यरत छापा माध्यमको पृष्ठ घटेको बताएका छन् भने ४८.४ प्रतिशत (२२७ जना) ले छापा माध्यमको प्रकाशनको समय (फ्रीक्वेन्सी) घटेको उल्लेख गरेका छन् । रेडियोमा कार्यरत ५१.८ प्रतिशत (१७६ जना) उत्तरदाता र टेलिभिजनमा कार्यरत ४२.८ प्रतिशत (११६) उत्तरदाताले प्रसारण सामग्रीको उत्पादनको घटेको उल्लेख गरेका छन् ।

सर्वेक्षणमा विपत्सँग जुध्ने पत्रकारहरुको क्षमतालाई स्वमूल्यांकनको आधारमा नेट प्रोमोटर स्केल विधिबाट मापन गरिएको थियो जसले पत्रकारहरुमा विपतको तयारी कमजोर रहेको देखाएको छ । पत्रकारहरुलाई तालिमलगायतका क्षमता विकासमा स्रोतसाधनको लगानी आवश्यक रहेको समेत प्रतिवेदनमा औल्याइएको छ । त्यसबाहेक विपतको समयमा पत्रकारिता क्षेत्रको क्रियाशीलताका लागि सरोकारवालाहरुको लागि विभिन्न सिफारिससमेत सर्वेक्षण प्रतिवेदनमा गरिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्