कनिका खबर
भदौ ११, दाङ ।
नेपाल परिवार नियोजन संघले प्रजनन स्वास्थ्य सम्बन्धी हेल्पलाइन सेवा सुरु गरेको छ । संघले कोरोना भाइरस (कोभिड १९ ) को महामारीको वर्तमान अवस्थामा कुनै पनि सेवाग्राही यौन तथा प्रजनन स्वास्थय सेवाबाट बन्चित हुन नपरोस् भन्ने उद्देश्यले हेल्पलाइन सेवा सुरुवात गरेको हो । संघले सेवाको पहुँचबाट बञ्चित, सीमान्तकृत समुदाय , यौन तथा लैङ्गिक अल्पसंख्यक , यौनकर्मी महिला ,एच आई भि एडस संक्रमित तथा अपाङ्गता भएका व्यक्तिहरुलाई सधै निःशुल्क रुपमा सेवा उपलब्ध गराउदै आइरहेको छ ।
यस महामारीको बेलामा सबैका लागि यौन तथा प्रजनन स्वास्थ ,परिवार नियोजन, सुरक्षित गर्भपतन , सुरक्षित मातृत्व , नवजात शिशु तथा बाल स्वास्थ्य ,एच आई भि एडस ,यौन संक्रमण लगायत स्वास्थ सम्बन्धी परामर्श तथा सेवाहरुलाई सबै माझ पुर्याउनका लागि निशुल्क हेल्पलाइन नम्बर १६६००१४५००० को व्यवस्था गरिएको छ ।
अहिलेको अवस्थामा हिँडडुल गर्न सहज नभएकोले सेवाग्राहीले जुन स्थानबाट टेलिफोन सम्पर्क गर्छन् त्यही पायक पर्ने ठाउका सेवाप्रदायक र सेवा केन्द्रहरुमा हेल्पलाइन मार्फत कल ट्रान्सफरको माध्यमद्वारा विशेषज्ञ चिकित्सकहरुसँग आवश्यक सेवा र परामर्श सेवा लिन सकिने व्यवस्था मिलाइएको कुरा नेपाल परिवार नियोजन संघका निमित्त महानिर्देशक सुभाष श्रेष्ठले जानकारी दिए । उक्त सेवाका लागि बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म हेल्पलाइन नम्बर १६६००१४५००० मा सम्पर्क राखी सेवा लिनका लागि सबैमा निमित्त महानिर्देशकले अनुरोध समेत गरेका छन् ।