बलेफीका २५ घर सुरक्षित स्थानमा स्थानान्तरण, सुन्दरडाँडा र धुसेनीका स्थानीयलाई तत्काल स्थानान्तरणको पहल गरिने – Kanika Khabar
Thursday, March 28Nepali News Portal

बलेफीका २५ घर सुरक्षित स्थानमा स्थानान्तरण, सुन्दरडाँडा र धुसेनीका स्थानीयलाई तत्काल स्थानान्तरणको पहल गरिने

    मा प्रकाशित

कनिका खबर
भदौं ११, सिन्धुपाल्चोक
पहिरोको उच्च जोखिममा परेपछि बलेफी गाउँपालिकाले २५ घर परिवारलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेको छ । बलेफी गाउँपालिका १ स्थित खमारेका २५ घर परिवार पहिरोको जोखिममा परेपछि गाउँपालिकाले तत्काल सुरक्षित ठाउँमा अस्थायी स्थानान्तरण गरेको हो । गाउँपालिकाले जग्गा भाडामा लिएर पहिरोको जोखिममा परेका नागरिकलाई सुरक्षित स्थानमा अस्थायी स्थानान्तरण गरेको गाउँपालिका अध्यक्ष केदार क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँपालिकाका तर्फबाट प्रति परिवार ३ बण्डल जस्तापाता, ग्याँससहितको सिलिण्डर, अस्थायी शौचालय, खानेपानी लगायतको प्रबन्ध मिलाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिबाट त्रिपाल, कम्बल लगायतका सामाग्री आएको र बिद्युतिकरणमा बिद्युत प्राधकिरणले सहयोग गरेको बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेन्द्र भण्डारीले जानकारी दिनुभयो । वडाका २५ घरधुरीका नागरिक पहिरोको जोखिममा परेपछि वडाध्यक्ष मधु थापाले उनीहरूको स्थानान्तरणका लागि पहलकदमी लिनुभएको थियो ।

त्यस्तै पहिरोले सुनकोशी गाउँपालिका–६ मा दर्जनौँ घर जोखिममा परेपछि पहिरोको निरीक्षण र स्थानीयको अवस्था बुझ्न बागमती प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति सरेश नेपाल सुन्दरडाँडा पुग्नुभएको छ । जोखिममा परेका स्थानीयलाई भेट्न र तत्कालिन राहत तथा उनीहरुको जिउधनको रक्षाका लागि पहल गर्न सांसद नेपाल बिहिबार पहिरोस्थलमा पुग्नुभएको हो । पहिरो निरन्तर खसिरहेको र घरबास जोखिममा परेको भन्दै स्थानीयले तत्काल आफूहरूलाई सुरक्षित स्थानमा लगिदिन प्रदेश सांसद नेपालसँग आग्रह गरेका छन् ।

गत साल पनि पहिरो आएको र आफूहरू अन्यत्र जान नसक्ने अवस्थाका कारण बाध्यताले बसेको भन्दै यसपटक भने गाउँमा बस्नै नसकिने अवस्था निम्तिएको स्थानीयले सुनाएका छन् । तत्कालका लागि आफूहरुलाई अस्थायी बासस्थान व्यवस्था गरिदिन उनीहरुले आग्रह गरेका हुन् । सुन्दरडाँडा, धुसेनी र पाखरदोभानका स्थानीयलाई तत्काल सुरक्षित स्थानमा अस्थायी बासस्थानको व्यवस्था गरिने सांसद नेपालले वचन दिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्