भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन – Kanika Khabar
Saturday, October 12Nepali News Portal

भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन

    मा प्रकाशित

कनिका खबर
भदौं १५, दाङ
भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको सोमबार ८४ वर्षको उमेरमा निधन भएको छ । कोरोना भाइरसबाट संक्रमितसमेत बनेका मुखर्जीको सोमबार नयाँ दिल्लीस्थित आर्मी आरआर अस्पतालमा निधन भएको हो । सोही अस्पतालमा उनले मस्तिष्कको सर्जरी पनि गरिएको थियो ।

गत मंगलबारदेखि नै मुखर्जीको स्वास्थ्यअवस्था कमजोर बन्दै गएको थियो । मंगलबार रात उनलाई भेन्टिलेटरको सहायतामा राखिएको थियो । उनका छोरा अभिजित मुखर्जीले सामाजिक सञ्जाल ट्विटरमार्फत् उनको निधन भएको पुष्टि गरेका हुन् ।

उनले ट्वीटमार्फत बुवाको मृत्यु भएको जानकारी दिएका हुन् । अगस्ट १० मा मुखर्जी आफैँले ट्वीट गर्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका थिए । कोरोना संक्रमण पुष्टि भएको २१ दिनमा उनको निधन भएको हो ।

मुखर्जीको दिमागमा जमेको रगत निकाल्ने क्रममा कोरोन परीक्षण गर्दा उनमा संक्रमण देखिएको बिबिसीले जनाको छ । यसपछि उनी अस्पतालमै थिए ।

मुखर्जी सन् २०१२ देखि सन् २०१७ सम्म भारतको राष्ट्रपति थिए । उनी गत वर्ष भारत रत्नबाट सम्मानित भएका थिए । राष्ट्रपति हुनुअघि आफ्नो ५ दशक लामो राजनीतिक जीवनमा मुखर्जीले वाणिज्य, विदेश, रक्षा र अर्थ मन्त्रालयको जिम्मेवारी सह्मालेका थिए ।

मुखर्जीले अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकका बोर्डमा पनि काम गरेका थिए ।

मुखर्जीको राजनीतिक जीवनको अधिकांश भाग भारतीय कांग्रेसमा बितेको थियो । उनले एकपटक कांग्रेस पार्टी परित्याग गरेर सन् १९८६ मा अलग्गै पार्टी गठन गरेका थिए तर दुई वर्षपछि कांग्रेसमै फर्के ।

मुखर्जी ३७ वर्ष भारतमा सांसद रहे । उनी राजनीतिक दलहरुबीच सहमति निर्माणमा कुशल मानिन्थे । सन् २०१४ अघि कांग्रेसको नेतृत्वमा संयुक्त सरकार चलाउनमा उनको सहमतीय भूमिका महत्वपूर्ण मानिन्छ ।

बिबिसीका अनुसार भारतको प्रधानमन्त्री हुने मुखर्जीको चाहना भने पूरा हुन पाएन । सन् १९८४ मा प्रधानमन्त्री इन्दिरा गान्धीको हत्या भएपछि मुखर्जीले प्रधानमन्त्री हुने प्रयास गरेका थिए ।

यसपछि सन् २००४ मा कांग्रेस पार्टीले अनपेक्षित जित हासिल गरेपछि पनि प्रधानमन्त्री हुने प्रयास गरेका थिए । दुवै पटक उनको प्रयास सफल भएन ।

मुखर्जी सन् २०१२ मा राष्ट्रपति निर्वाचित भए । भारतमा राष्ट्रपति पद आलंकारिकमात्रै भए पनि संसदमा कुनै पनि पार्टीले बहुमत हासिल नगरेको अवस्थामा सरकार निर्माणमा राष्ट्रपति भूमिका महत्वपूर्ण मानिन्छ । मुखर्जीको कार्यकालमा सन् २०१४ मा भएको निर्वाचनमा भारतीय जनता पार्टीले बहुमत हासिल गरेको थियो ।

मुखर्जी २०७३ साल कात्तिक तेस्रो साता नेपालको तीन दिवसीय भ्रमणमा आएका थिए । भारतीय राष्ट्रपतिको भ्रमण १७ वर्षपछि भएको थियो । नेपाल भम्रण गर्ने पछिल्ला भारतीय राष्ट्रपति मुखर्जी नै हुन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्