कनिका खबर
भदौ २४, दाङ ।
आज प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको १०७ औँ जन्मजयन्ती परेको छ । नेपाली काँग्रेसले जननेता बिपी कोइरालाको १०७ औँ जन्म जयन्ती कोरोना भाइरस सङ्क्रमणको प्रतिकूलताबाट सुरक्षित रहँदै विशेषरुपमा मनाउने भएको छ । काँग्रेसले यही साताका फरक दिनहरूमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाउन जिल्ला र विदेशस्थित जनसम्पर्क समितिलाई परिपत्र गरिसकेको जनाएको छ ।
केन्द्रीय तहबाट तीन दिने कार्यक्रम तय गरिएको र भदौ २४ गते जुम प्रविधिमार्फत सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेललगायत शीर्ष नेताले सम्बोधन गर्ने‘बिपीको विचार नेपालको समुन्नतिको मूल बाटो’ विषयक कार्यक्रम तय गरिएको छ । यसैगरी भदौ २५ गते ‘नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र विदेश नीतिमा बिपीको योगदान’ विषयक कार्यक्रम तय गरिएको र पार्टीका उपसभापति विमलेन्द्र निधि एवं अन्य विज्ञहरु वक्ता रहेको काँग्रेसले जनाएको छ ।
भदौ २६ गते तय गरिएको ‘विचार निर्माण एवं प्रचारमा वीपीको शैलीको आलोकमा अबको रणनीति’ विषयक कार्यक्रममा बौद्धिक चिन्तकद्वय नरहरि आचार्य र प्रदीप गिरी वक्ता रहनुभएको छ । जुममार्फत हुने तिनै दिनको कार्यक्रम पार्टीको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारणसमेत गरिने पार्टी कार्यालयले जनाएको छ ।
विश्वेश्वर प्रसाद राजनीतिक जीवन त्यतिखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलनबाट भयो । आन्दोलनमा लागेकै कारण विश्वेश्वर प्रसाद र उनका दाइ मातृकाप्रसाद कोइरालालाई इ.सं.१९३० मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्यो । यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो । १९३२ मा उनले आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पूरा गरे । त्यसपछि बनारस हिन्दू विश्वबिद्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर पूरा गरे । अध्ययन पूरा गरे पछि दार्जीलिङमा बसेर धेरै समयसम्म कानुन पेशामा काम गरे । विद्यार्थी हुँदापनि उनी राजनीतिमा नजिकरहेका थिए । इ।सं। १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्धको समयमा उनलाई बेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो । त्यहाँबाट छुटेपछि उनले इ।सं। १९४७ मा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।
सन् १९४७ मा बिराटनगर मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गर्यो । इ.सं.१९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरू गरे। अक्टोबर १९५१ मा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलीय प्रजातन्त्रको स्थापना भयो । त्यस पछि मोहन शमशेर जबराको नेतृत्वमा नयाँ सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने।