कनिका खबर
भदौं २६, भक्तपुर
भक्तपुरको चाँगुनारायण नगरपालिकाले होम आइसोलेशनमा बसेका कोभिड १९ सङ्क्रमितका लागि दैनिक ‘होम आइसोलेशनमा डाक्टर’ कार्यक्रम सञ्चालनमा ल्याएको छ । होम आइसोलेशनमा बसेका सङ्क्रमितले डाक्टरको परामर्श लिन नपाउने र कुनै समस्या भएमा अन्योलको अवस्था आउने भएपछि प्रत्येक दिन सङ्क्रमितलाई डाक्टरसँग जुममार्फत परामर्श गर्ने नगरपालिकाले व्यवस्था गरेको हो । सङ्क्रमितलाई डिप्रेसन नहोस, आत्मबल बढोस्, एक अर्काको अनुभव सुन्ने सुनाउने काम होस र समस्याको समाधान गर्न सजिलो होस भनेर सुरु गरेको यो सेवामा सातजना डाक्टरले निःशुल्क परामर्श दिने गरेका छन् । निषेधाज्ञा खुकुलो बनाइएसंगै काठमाडौं उपत्यका छिर्ने पूर्वी नाका साँगाबाट भने सहज रूपमा दुई हजार बढी सवारी प्रवेश उपत्यका प्रवेश गर्ने गरेका छन् । भक्तपुर सीमा नाकाबाट दैनिक विभिन्न बहानामा दुई हजारभन्दा बढी सानाठूला सवारी उपत्यका छिर्ने गरेको हो ।
भक्तपुरमा २०७७ भाद्र २५ गतेदेखि भाद्र ३१ गतेसम्मका लागि सार्वजनिक सवारी साधन बन्द गर्ने निर्णय गरे तापनि सार्वजनिक सवारी साधन चल्न थालेका छन् । सरकारले भाद्र २५ गते हिजो बाट निषेधाज्ञा खुकुलो बनाएसँगै भक्तपुरबाट चल्ने सार्वजनिक यातायातका साधनहरु पनि चल्न थालेका हुन् । मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगरभित्रका यातायात व्यवसायीका प्रतिनिधिहरूसँग भक्तपुर नगरभित्रबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालनमा रहेका छोटो दुरीका यातायातहरू हिजो देखि ३१ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय विपरित गाडीहरू चलेका छन् ।