रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु – Kanika Khabar
Tuesday, July 14Nepali News Portal

रोल्पामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
भदौं २७, रोल्पा
रोल्पाको लुंग्री गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

रोल्पाको लुंग्री गाउँपालिका–१ ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर गएराति पहिरोले पुरिँदा उनका छोराहरु ११ वर्षीय युवराज र ८ वर्षीय अमरको मृत्यु भएको वडाध्यक्ष मति पुनले जानकारी दिए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी नरेश सुवेदीका अनुसार दुवैजनाको घटनास्थलमै मृत्यु भएको हो । उनीहरुको शव निकालेर पोष्टमार्टमका लागि जिल्ला सदरमुकाम पठाइँदै छ ।

पहिरोमा पुरिएर ज्ञानसिंहकी पत्नी ३५ वर्षीया नन्दकली र आमा ५० वर्षीया बीरमा घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि सुलिचौर अस्पताल पठाइएको डिएसपी सुवेदीले जानकारी दिए ।

ज्ञानसिंहका जेठा छोरा यमराज आफन्तको घरमा पाहुना गएका थिए । ज्ञानसिंह भने रोजगारीको सिलसिलामा ८ वर्ष पहिले भारत गएपनि परिवारका सदस्यहरुसँग सम्पर्कमा नरहेको वडाध्यक्ष मति पुनले जानकारी दिए ।

गत वर्ष रोल्पाको थवाङ गाउँपालिका–२ मा पहिरोले घर पुरिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्