असोज पाँच गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात सञ्चालन गर्ने सरकारको निर्णय – Kanika Khabar
Friday, March 21Nepali News Portal

असोज पाँच गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात सञ्चालन गर्ने सरकारको निर्णय

    मा प्रकाशित

कनिका खबर
भदौं ३०, काठमाडौं
सरकारले स्वास्थ्य सुरक्षाको मापदण्डसहित असोज ५ गतेबाट सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको छ  । हिजो बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मापदण्डको पूर्ण पालनासाथ सार्वजनिक तथा आन्तरिक हवाई यातायात खुला गर्ने निर्णय गरेको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात असोज ५ गतेबाट खुला गर्ने प्रस्ताव कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा पठाएको थियो । सीसीएमसीले उक्त प्रस्तावका आधारमा निर्णयका लागि मन्त्रिपरिषद् बैठकमा पेस गरेको थियो । सरकारको यसअघिको निर्णयबाट असोज १ गतेसम्म लामो दूरीको सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको थियो । असोज १ गतेबाटै सञ्चालन गर्दा व्यवस्थापनमा कठिनाइ हुन सक्ने भएकाले असोज ५ गतेबाट यातायात सञ्चालन गर्ने गरी प्रस्ताव पठाइएको मन्त्रालयले जनाएको छ । यातायात व्यवस्था विभागले पनि सुरक्षाका उपाय अपनाएर लामो दूरीका यातायात सञ्चालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सुझाव दिएको थियो । सरकारले तोकेको सुरक्षाका मापदण्ड अपनाएर यातायात सञ्चालन गर्न सकिने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिनुभयो । यातायात व्यवसायीले लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात खुला गर्न माग गर्दै आएका थिए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँरले यातायात खोल्नुको विकल्प नरहेको र सुरक्षा अपनाएर यातायात सञ्चालन गर्न व्यवसायी तयारी अवस्थामा रहेको बताउनुभयो । गत चैत ११ गतेदेखि लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात सञ्चालन बन्द थियो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्