शरद रेग्मी
बैशाख २४, दाङ ।
छिमेकी जिल्लामा दिनहुँ कोरोनाका बिरामीहरु बढ्न थालेपछि दाङ जिल्लामा पनि स्थानीय प्रशासनले लकडाउनलाई थप कडाईका साथ लागु गर्न निर्देशन गरेको छ । अतिआवश्यक बाहेक साँझ र बिहानको समयमा पनि नागरिकहरुलाई घरभित्र बस्न प्रशासनले पुनः आग्रह गरेको छ ।
“हामीहरु जिल्लालाई पूर्ण रुपमा लक गर्ने तयारीमा छौं ।´´ प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले भने । प्र.जि.अ रिजालका अनुसार स्वास्थ्य र सुरक्षाको टिम सहितको हेल्प डेक्स स्थापना गरेर पूर्व र पश्चिम नाकामा कडाई गर्ने तयारीमा रहेको जानकारी दिए । उनका अनुसार नाकाहरुमा चेकजाँच र कडाई गर्न शुरु भैसकेको छ ।
यता तुलसीपुर उद्योग वाणिज्य संघले स्थानीय सरकार प्रमुख र जिल्ला प्रशासन कार्यालय र इलाका प्रहरी कार्यालय तुलसीपुरको समन्वयमा अतिआवश्यक खाद्यान्नका पसलहरु विहान ६ वजे देखि ८ वजे सम्म मात्र खुल्ला रहने जानकारी दिएको छ ।
वाणिज्य संघका अध्यक्ष विर वहादुर रावतले स्थानीय सर्वसाधारण र उद्योगी व्यवसायीहरुको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै विहान ८ वजे सम्म मात्र पसल खोल्ने निर्णय गरेको जानकारी दिए । उनका अनुसार मुलुकमा उत्पन्न विसम परिस्थितिको सामना गर्ने क्रममा आफूहरु समय अनुसार चल्नु परेको भन्दै खतरा बढ्दै गयो भने भोलि सबै पसलहरु वन्द गरेर घर भित्र बस्न तयार हुन पनि सबैलाई अनुरोध गरे ।
उनले अतिआवश्यक भन्दा अरु काममा व्यवसायीहरुलाई घर बाहिर ननिस्किन समेत अपिल गरेका छन् । यता बुधवार तुलसीपुर उद्योग वाणिज्य संघमा भएको छलफल पछि यस क्षेत्रमा होमडेलिभरी गर्ने व्यापारीहरुलाई विहीवार देखि बन्द गर्ने निर्णय गरेको छ । यस आपसमा घुलमिल र हिँडडुल गर्दा संक्रमण फैलिन सक्ने खतरा हुन सक्ने भन्दै तरकारी, फलफूल र अन्य सामाग्री वजारमा डुलाएर वेच्न वन्द गरिएको छ । गाडी, ठेलागाडा र अटोमा समेत दैनिक तरकारी र खाद्यान्न र फलफूल वेच्न रोक लगाइए संघका महासचिव रुप वहादुर खत्रीले जानकारी दिए ।