कनिका संवाददाता
बैशाख २५, दाङ ।
अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)ले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसियु उपकरण खरिदका लागि ६८ लाख २५ नगद सहयोग उपलब्ध गराएको छ ।
नेपालको स्वास्थ्य सेवाको विस्तार र विकासमा विभिन्न प्राविधिक एवं आर्थिक सहयोग उपलब्ध गराउँदै आएको एएनएमएफले राप्तीमा सघन उपचार सेवा विस्तारका लागि सहयोग गरेको हो। फाउन्डेसनका अध्यक्ष डा. भुपेन्द्रकुमार बस्नेतले बिहीबार स्वास्थ्य मन्त्रालयमा आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई चेक हस्तारन्तरण गरे।
मन्त्री ढकालले सो चेक राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकूलपति डा. संगिता भण्डारीलाई हस्तान्तरण गरे । सो रकमले प्रतिष्ठानले मेनिटर, भेन्टिलेटर, इजिसी मेसिन, आइसियु बेड र डिफिबिलेटर खरिदमा खर्चिने डा. बस्नेतले जानकारी दिए । हस्तान्तरण कार्यक्रममा बोल्दै स्वास्थ्यमन्त्री ढकालले नेपाल छोडेर गएका र नेपाल फर्केकासमेत चिकित्सकले संकटको समयमा देशलाई सम्झेर गरेको सहयोग निकै अर्थपूर्ण भएको बताए । ‘कतिपय चिकित्सकहरु संकटका समयमा नेपालमै काम गर्छु भनेर फर्किनु भएको छ, कतिपय बाहिर बसेर पनि कसरी सहयोग गर्न सकिन्छ भनेर लागिरहनु भएको, सबैलाई धन्यावाद’ मन्त्री ढकालले भने ।
उपकुलपति डा. भण्डारीले मध्यपश्चिम क्षेत्रकै प्रमुख स्वास्थ्य संस्था भएर पनि राप्तीमा सघन उपचार सेवा नहुँदा धेरै बिरामीले एम्बुलेन्समै ज्यान गुमाउनु परिरहेको भन्दै एएनएमएफको सहयोग महत्वपूर्ण हुने बताइन् । अध्यक्ष डा. बस्नेतले फाउन्डेसनले गोरखा भुकम्पलगतैदेखि विभिन्न ठाउँमा स्वास्थ्य संस्था स्थापना, आइसियु सेवा विस्तार र अक्सिजन प्लान विस्तारमा पनि सहयोग गर्दै आएको जानकारी दिए । उनले कोभिड १९ को कहर सुरु भएपछि पनि झन्डै ८ सय थान व्यक्तिगत सुरक्षा सामग्री विभिन्न अस्पतालहरुलाई उपलब्ध गराएको जानकारी दिए । अमेरिकामा अध्यायन, तालिम र अभ्यास गरेका चिकित्सकहरुको पहलमा यो संस्था स्थापना भएको थियो ।
नेपालमा सन् १९९७ मा यसको च्याप्टर बनेको थियो । कार्यक्रम एएनएमएफका पूर्वृ अध्यक्ष डा. भगवान कोइराला, महासचिव डा. महेशराज सिग्देल, सदस्यहरु डा. जनक कोइराला र डा. संगिता बस्नेतलगायतको उपस्थिति थियो ।