लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई काङ्ग्रेस सभापति देउवाको आग्रह (शुभकामनाको पूर्ण पाठसहित) – Kanika Khabar
Thursday, April 25Nepali News Portal

लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई काङ्ग्रेस सभापति देउवाको आग्रह (शुभकामनाको पूर्ण पाठसहित)

    मा प्रकाशित

कनिका खबर
असोज ३, काठमाडौं ।
नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।
सरकारका संविधान विपरीतका गतिविधिलाई गम्भीरतापूर्वक लिएको बताएका छन् । संविधान दिवसको अवसरमा शुभकामना दिँदै सभापति देउवाले सरकारका संविधान विपरितका गतिविधिलाई गम्भीरतापूर्वक लिएको बताएका हुन् ।

सभापति देउवाले संविधान दिवसको अवसरमा दिएको शुभकामनाको पूर्णपाठ
मुलुकमा लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि भएका आन्दोलनहरुमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात वीर सहिदहरुको समर्पण र बलिदानको उच्च कदर गर्दै संविधान दिवसका अवसरमा उहाँहरुप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु ।
नेपाली कांग्रेसको नेतृत्वमा, जनताका निर्वाचित प्रतिनिधिद्वारा असोज ३, २०७२ मा संविधानसभाबाट पारित भइ घोषणा भएको नेपालको संविधान लामो र संघर्षपूर्ण लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण उपलब्धि हो । यो संविधानले लोकतन्त्र र मानव अधिकारका विश्वव्यापी मान्यतालाई आत्मसात् गर्दै सबैको हक र अधिकार सुनिश्चित गरेको छ । संविधान जारी भएको यो ऐतिहासिक दिनलाई हामी सबैले गौरव साथ स्मरण गर्दै हरेक वर्ष संविधान दिवसका रुपमा मनाउँदै आएका छौं ।
विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस ९कोभिड–१९० को कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको छ । यसबाट उत्पन्न परिस्थितिले आम नागरिकको जीवन अत्यन्त कष्टकर र दयनीय बन्दै गएको छ । उच्च सर्तकता र दृढ मनोबलका साथ यो महामारीको सामना गर्न संविधान दिवसको अवसरमा म सबैलाई आग्रह गर्दछु ।
संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गर्दै अबका दिनमा मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउन यो संविधान दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्नेछ भन्ने मैले विश्वास लिएको छु । संविधानको सफलताका लागि एकातर्फ यसप्रति सबैको अपनत्व गाँस्दै लग्न जरुरी हुन्छ भने अर्कातर्फ संविधानको अक्षर र भावना अनुरुपको ब्यवहार जरुरी हुन्छ ।
नेपाली कांग्रेसका तत्कालीन सभापति एवं प्रधानमन्त्रीहरु क्रमशः गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नेतृत्वमा देशमा क्रमशः शान्ति स्थापना र संविधान निर्माण भएको अनि तीन तहको निर्वाचन गराएर मेरो नेतृत्वमा रहेको सरकारले संविधान कार्यान्वयन गरेको सर्वविदित नै छ ।
तर त्यसपछिका दिनहरूमा संविधानको सफलताका लागि बाँकी कार्यभारहरु पूरा गर्नेभन्दा संविधानको भावना विपरीतका गतिविधि नेकपाको नेतृत्वमा रहेकोे सरकारबाट भइरहेको छ । यसलाई मैले गम्भीरतापूर्वक लिएको छु ।
प्रधानमन्त्रीको कार्यालयमा शक्ति केन्द्रित गर्ने कार्य, संविधानको भावना विपरीतका विधेयकहरु, प्रेस स्वतन्त्रता कुन्ठित गर्ने नियत र ब्यवहार, प्रदेश र स्थानीय सरकारहरुलाई अधिकार, कर्मचारी र बजेट बिनियोजनमा गरिएका विभेदहरु, संवैधानिक अंगहरुको गरिमा अन्त्य गर्ने ढंगले गरिएका ब्यवहारहरु, फरक विचार राख्ने या विरोध गर्नेप्रति जाइलाग्न प्रस्तुत असहिष्णु अभिव्यक्ति, नेकपा नेतृत्वको शासनका यस्ता कार्यले संविधानको सफलता होइन नवीन जटिलता तर्फ मुलुकलाई लैजान सक्दछ ।
आजको दिन लोकतान्त्रिक संविधान अनुरुपको लोकतान्त्रिक व्यवहारमा इमानदार बन्न म प्रधानमन्त्रीजी एवं उहाँको नेतृत्वमा रहेकोे सरकारलाई अपील गर्दछु ।
अन्त्यमा, अनेक चुनौतीका बावजुद यो संविधानको सफलतासँग हामीले देशको समुन्नतिलाई सुनिश्चित गर्ने संकल्प आजको घडी जरुरी छ । यही आग्रह साथ स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाईहरुमा संविधान दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
जय नेपाल १
शेरबहादुर देउवा
सभापति

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्