डायरी : तुना छिनेरै हैरान ……… – Kanika Khabar
Wednesday, June 25Nepali News Portal

डायरी : तुना छिनेरै हैरान ………

    मा प्रकाशित

खेमराज रिजाल
आज घोराहीको वीपीचोकमा किनेको मेरो सत्ताइसौँ मास्क हो । अस्ति वीपी युवा परिषद्का अध्यक्ष सरोज शाहले दिएको मास्क पुरानो भइसकेपछि त्यहीँको पसलमा पन्ध्र रुपैयाँमा मैले मास्क किनेको थिएँ ।

यस्तो कुरा पनि किन लेखेको भनेर तपाईंहरुले मलाई गाली गर्न सक्नुहुन्छ, तर पनि म वाध्य भएर लेख्दै छु, तपाईंहरुको जानकारीका लागि । छिनेको मास्कको तुना हेरेँ, गमले चेप्टाइएको थियो । लकडाउन सुरु हुँदै गर्दा मैले किनेको मास्क त्यसरी गमले अर्थात ग्लुस्टिकले डोरी चेप्टाएको हुन्थेन । अचेल त मास्क उद्योगलाई भ्याइ–नभ्याइ रहेछ । किनकि मास्क जत्ति पनि विक्री हुन्छ, तुना सकेसम्म एकघण्टामै छिनोस् अनि अर्को मास्क किनिहाल्छन् ।

किनकि सरकारले कोरोना संक्रमितको उपचार होइन, स्वाब परीक्षण गर्न समेत छाडेको छ । त्यसैले दूरसञ्चारले पनि रिङटोनमा आफू बचौँ र अरुलाई बचाऔँ भन्छ । किनकि सरकारले अब कोरोनाका बिरामीलाई बचाउन सक्ने छैन, मास्क र सेनिटाइजर लगाउन मात्रै सिकाउँछ ।

सुनिल शर्माले डायरी लेख्दै गर्दा एउटा स्टिच लाएको मास्क देखाए । ‘लगाउँदाबित्तिकै छिन्छ दाइ, त्यसैले स्टिच लगाएर दुई–तीन दिन टिकाउँछु ।’ उनको मास्कको चारै कुनामा स्टिच लगाइएको थियो । कति बेइमान रहेछन् मेडिकल माफियाहरु । किनकि उनीहरुले नै सरकार चलाएका छन् । मास्कको तुना छिन्यो भनेर हामीले गुनासो गर्ने कुनै ठाउँ छैन, सुन्ने कुनै सरकार पनि छैन । गाउँपालिका, प्रदेश सरकार, संघीय सरकार न त स्थानीय प्रशासन ।

दुई महिना अघि लकडाउनकै बीच पनि वाणिज्य कार्यालय नेपालगञ्जका हाकिम साव आएर घोराहीका सर्जिकल हाउसमा एन ९५ मास्कको मूल्य अनुगमन गरेका थिए । अनि सोझै जरिवाना रसिद थमाएका थिए । तर दश रुप्पेको सर्जिकल मास्कको गुणस्तरमा उनले ध्यानै दिएनन् ।

तुलसीपुर उपमहानगरपालिकाका रेबा रावत पनि त्यसै टिममा थिइन् । उपभोक्ता अधिकारलाई सुनिश्चित गर्दै सबै क्षेत्रमा अनुगमन गर्ने उनले त्यसैबेला सोनापुर सिमेन्टका सिइओ हरि पाठकलाई चेतावनी समेत दिएकी थिइन्  तर आम सर्वसाधारणले दिनदिनै उपभोग गर्ने सर्जिकल मास्कको तुना किन ग्लुस्टिकले चेप्टाइन्छ ? यो राज्यको कुन निकायले अनुगमन गर्ने हो ?

पाठकबृन्द, दश रुपैयाँको मास्कको तुनाको किन इन्सल्ट गरेको भन्ने तपाईंलाई अधिकार छ । तर लगाउनेबित्तिकै मास्कको तुना छिन्यो भने तपाईंलाई पनि चित्त दुख्छ होला । किनकि पैसा सबैले मिहिनेतले कमाउने हो । एउटा गल्लीमा तरकारी बेच्ने महिलालाई मास्क महँगो हुन्छ, किनकि उनले तीन किलो तरकारी बेचेपछि मात्र एउटा मास्क किन्ने मुनाफा आउँछ ।

तर यस्ता मास्क उत्पादन गर्ने माफियालाई कारवाही हुनुपर्ने होइन ? भो अब कोरोनासँग सम्बन्धित कुनै कुरा लेख्दिन भन्दा पनि मास्कको तुना छिनेकोले लेख्न मन लाग्यो । किनकि यो पनि एउटा माफियातन्त्र हो । यसमा राज्यले भूमिका निर्वाह गर्नुपर्ने होइन र ?

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्