महामारीको प्रभाव न्याय क्षेत्रमा : प्रधानन्यायाधीश – Kanika Khabar
Thursday, April 18Nepali News Portal

महामारीको प्रभाव न्याय क्षेत्रमा : प्रधानन्यायाधीश

    मा प्रकाशित

कनिका डेस्क
बैशाख २६, दाङ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको बताएका छन् । आज शुक्रबार कानुन दिवसको अवसरमा शुभकामना दिंदै प्रधानन्यायाधीश जबराले महामारीको प्रभाव स्वभावतः न्याय क्षेत्रमा पनि परेको उल्लेख गर्दै नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतहरूले सङ्कुचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएको बताएका छन् ।
साथै प्रधानन्यायाधीश जबराले नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

प्रधानन्यायाधीशको शुभकामना सन्देश–

सर्वप्रथम ‘कानून दिवस, २०७७’ को उपलक्ष्यमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।
नेपाल प्रधान न्यायालय ऐन, २००८ विक्रम संवत् २००९ साल वैशाख २६ गते लागू भएको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानून दिवसको रूपमा मनाइँदै आएको कुरा सर्वविदितै छ । न्यायपालिकाको स्वतन्त्रता, विधिको शासन तथा आधुनिक न्याय प्रणालीको प्रारम्भ गर्ने दिशामा उक्त दिनमा कोरिएको मार्गचित्रलाई आजको अवस्थासम्म ल्याइपु¥याउन भूमिका निर्वाह गर्नु हुने सम्पूर्ण व्यक्तित्वहरूका योगदानको स्मरण गर्दै आजको यस विशेष दिनमा उहाँहरूप्रति हार्दिक सम्मानसमेत व्यक्त गर्दछु ।
न्यायिक इतिहासको अत्यन्त जटिल र कठिन परिस्थितिहरूमा पनि स्वतन्त्र न्यायपालिकाको मूल्य मान्यतालाई अक्षुण्ण राख्दै विधिको शासन तथा नागरिकका हक अधिकारको संरक्षणका लागि न्यायपालिकाले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । न्यायपालिकाको नेतृत्वको हैसियतबाट नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि सदा क्रियाशील रहने कुराको प्रतिबद्धतासमेत व्यक्त गर्दछु । त्यसमा कहीँ कतैबाट कुनै किसिमको आँच आउन नदिन आफू सदैव सचेत, गम्भीर र संवेदनशील रहेको पनि म यस अवसरमा स्पष्ट गर्न चाहन्छु । आजको दिनमा हामी सबैले आ–आफ्नो तहबाट गर्नुपर्ने प्रण पनि त्यही नै हो भन्ने मलाई लाग्दछ । यसबाट नै कानून दिवसप्रतिको वास्तविक सम्मान र दिवस मनाउनुको सार्थकता रहन सक्छ ।

नेपालको संविधानले लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका, कानूनी राज्यलगायतका मूल्य मान्यताहरूलाई संविधानको आधारभूत संरचनाको रूपमा स्थापित गरेको छ । सुशासन, विकास, समृद्धि र सामाजिक न्यायको परिकल्पना संविधानले गरेको छ । त्यसप्रति प्रतिबद्ध रहँदै सहज पहुँचयुक्त एवम् जनआस्थामा आधारित न्यायपद्दतिको स्थापना र विकास गर्न आजको यस विशेष दिनले सम्बन्धित सबैमा थप ऊर्जा र हौसला प्रदान गर्ने छ भन्ने विश्वाससमेत मैले लिएको छु ।

हामी अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड ( १९) को कारणबाट उत्पन्न कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेका छौँ । कोरोना भाइरसबाट विश्वका अधिकांश देशहरू प्रभावित भएको, लाखौं मानिसहरू यसबाट सङ्क्रमित रहेको र २ लाख ५० हजारभन्दा बढी मानिसहरूले यस रोगका कारण मृत्युवरण गर्नु परेको दुखद् अवस्था हाम्रा सामु छ । आजको यस विशेष दिनमा कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गर्दछु ।

औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक दूरी कायम गर्नेलगायत स्थापित विधि र मापदण्डहरूको अवलम्बन तथा रोग प्रतिरोधी क्षमता अभिवृद्धिका लागि उच्च मनोबल, सकारात्मक सोच र आत्मसंयम नै यसको रोकथाम र नियन्त्रणको उपयुक्त विकल्प रहेको कुरा पनि म यहाँ स्मरण गराउन सान्दर्भिक ठान्दछु ।

महामारीको प्रभाव स्वभावतः न्याय क्षेत्रमा पनि परेको छ । नेपाललगायत महामारीबाट प्रभावित देशका अदालतहरूले सङ्कुचनसहितको न्यायसम्पादन र सेवा प्रवाहको व्यवस्थापन गर्दै आएका छन् । यसबाट न्यायको प्राप्तिमा पुग्न गएको असुविधालाई परिस्थितिजन्य बाध्यताको रूपमा बुझ्न पनि सम्बन्धित सबैमा हार्दिक आग्रह गर्दछु ।

सम्पूर्ण मानव समुदायको सरोकार र विश्वव्यापी बहुआयामिक प्रभावहरू रहेको शताब्दीकै ठूलो यस महामारीले ‘एबलमझष्अ व्गकतष्अभ’ सम्बन्धी छुट्टै विधिशास्त्रको विकासको आवश्यकता रहेकोसमेत अनुभूति गराएको छ ।

महामारीको कारण औपचारिक कार्यक्रमको आयोजना गर्न नसकिएको यस परिस्थितिमा एक आपसमा शुभकामना आदान प्रदान गरी यस वर्षको कानून दिवस मनाउन न्याय क्षेत्रमा क्रियाशील व्यक्तित्वलगायत सम्बद्ध सबैमा हार्दिक अपिल गर्दछु ।

कानून दिवस, २०७७ ले समानता, न्याय र विधिको शासनको सुनिश्चितताका लागि आ–आफ्नो ठाउँबाट योगदान गर्ने सकारात्मक सोच, प्रेरणा र क्षमता प्रदान गरोस् भन्ने पुनः शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

चोलेन्द्र शम्शेर ज.ब.रा.

प्रधान न्यायाधीश

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्