भालुवाङमा एउटै घडेरी दुई व्यक्तिको नाममा फेला – Kanika Khabar
Wednesday, April 22Nepali News Portal

भालुवाङमा एउटै घडेरी दुई व्यक्तिको नाममा फेला

    मा प्रकाशित

महेश रिजाल/ओमप्रकाश गुप्ता ।
भालुवाङ २८ असोज ।

दाङको भालुवाङ नगर विकास समितिमा कार्यरत कर्मचारीहरुले स्थानीयहरुलाई ब्यापक ठगी गरिरहेको खुलासा भएको छ । घटना बिबरण अनुसार उक्त नगर विकास समितिको सेवा क्षेत्रभित्र पुल्चोक बजारमा घर घडेरी भएका खुसलबहादुर कुमालले २०५८ सालमा स्थानीय मनमाया थापासँग दुई लाख पचास हजार मूल्य तिरेर अन्दाजी एक कठ्ठा घडेरी र सोही घडेरीमा बनेको टिनको छाना भएको घर समेत खरिद गरेका थिए ।


नगर विकास समितिले २०६२ सालमा ३०५ रुपैयाँको भोगाधिकार रसिद स्थानीयहरुलाई उपलब्ध गराउँदा निज खुसल कुमाललाई साढे ११ धुर मात्रको रसिद थमाइ दिएका थिए । यसो किन गरेको भन्दा उक्त नगर विकास समितिमा कार्यरत प्रशासन खरिदार बिनोद भुसालले टेर्दै टेरेनन् उल्टै मौरीघाट निवासी यमकला चौधरी थापालाई निज कुमालकै जग्गा जबजस्ती हड्प्न लगाई घर बनाउन लगाए । पीडित कुमालले नगर विकास कार्यालय र स्थानीयहरुसँग हारगुहार गर्दा सुनवाई भएन । कुमालले भालुवाङ नगर विकास समितिका हालका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई सम्बोधन गरी नगर विकास समितिमा आफ्नो घर घडेरी कब्जा गर्नेलाई हटाई पाउँ भनि निवेदन लिएर नगर विकास समितिको कार्यालयमा पुगे । उक्त निवेदनमा नगर विकास समितिका अध्यक्ष तथा गाउँपालिकाका अध्यक्ष सुवेदी कार्यकक्षमा थिएनन् । प्रशासन खरिदार विनोद भुसालले मर्यादा विपरीत र कानुन विपरीत उक्त निवेदनको शीरमा यो निवेदन दर्ता गरी फिल्ड जाँच गरी राय पेस गर्नु भनेर तोक लगाई आफै दस्खत गरेका छन् ।


अझै रहस्यमय त के पाइएको छ भने हालका अध्यक्ष तथा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले उक्त कुमालको घरघडेरी हड्प्ने चौधरीलाई कार्वाही गर्नुको साटो चोर दुलोबाट अथवा गैर कानुनी ढङ्गबाट ३०५ को रसिद कायम गरी घरघडेरी कायम गरी पाउँ भन्ने निवेदनमा तोक समेत लगाई यही असोज ३ गतेका दिन भोगाधिकार रसिद समेत उपलब्ध गराएका छन् । स्मरण रहोस् देशभरका नगर विकास समितिहरुमा पदाधिकारी चयन गर्दा राजनैतिक नियुक्ति गर्ने गरिन्थ्यो । सरकारले उक्त नियमलाई खारेज गरी स्थानीयतहका मेयर वा पालिकाका अध्यक्षहरुलाई सम्बन्धित नगर विकास समितिका अध्यक्ष कायम गर्ने नियम लागु गरेको छ ।


भालुवाङ नगर विकास क्षेत्रभित्र पर्ने विशाल पुल्चोक बजार, पुरानो भालुवाङ बजारको केही भाग र पाखापानीको केही भागमा करिव ३१ विगाह क्षेत्रफलमा बनेका स्थानीय बासिन्दाका महल तथा घरहरुको धनीपुर्जा छैन । सवै घरघडेरी भोगाधिकार भित्र रहेका छन् । यिनै महल घरहरुको हालै भालुवाङ नगर विकास समितिले कोरोना महामारीबाट देश लकडाउन भएको अवस्थामा पनि विहान साँझको जोहो गर्न मुस्किल परेका स्थानीय नगरबासीहरुबाट झण्डै करोडको हाराहारीमा कर उठाएको छ । खुशल कुमालको घटना एउटा प्रतिनिधि पात्र मात्र हो । भालुवाङ नगर विकास समितिमा विगत देखि वर्तमानसम्म नेतृत्वमा रहेका अध्यक्षहरु र त्यहाँ कार्यरत कर्मचारीहरुले यस्तै सयौं प्रकारका भ्रष्ट कार्य गरेका उदाहरणहरु छन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्