हिल्सामा नेपाली भूमि मिचिएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र – Kanika Khabar
Thursday, June 11Nepali News Portal

हिल्सामा नेपाली भूमि मिचिएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

    मा प्रकाशित

कनिका खबर
कार्तिक १, काठमाडौं

नेपाल–चीन सीमास्थित लिमीको ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको भन्दै कर्णाली प्रदेशसभाको प्रमुख प्रतिपक्षी दलका नेता जीवनबहादुर शाहीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाउनुभएको छ । तत्काल विज्ञ सम्मिलित टोली पठाई सीमा विवाद हल गर्न माग गर्दै काँग्रेस केन्द्रीय सदस्य शाही नेतृत्वको टोलीले हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको हो । डेढ महिनाअघि लिमी क्षेत्रमा नेपाली भूमि मिचेर चिनियाँ पक्षले ९ वटा भवन बनाएको भन्ने समाचार बाहिरिएपछि शाही नेतृत्वको टोली सीमाक्षेत्र पुगेको थियो । काँग्रेस जनप्रतिनिधिको टोलीले ललोङजोङ र हिल्सामा नेपाली भूमि मिचिएको निष्कर्ष निकालेको थियो । चिनियाँ पक्षले करिब डेढ किलोमिटर नेपालको भूमि मिचेर ललोङजोङमा भवन निर्माण गरेको सांसद शाहीले बताउनुभयो । सरकारले सीमा मिचिएकोबारे गम्भीर अध्ययन र अनुसन्धान गरी कूटनीतिक पहल चाल्न जरुरी रहेकाले पहिलो चरणमा प्रजिअ मार्फत प्रधानमन्त्रीलाई दुई बुँदे मागसहित ध्यानाकर्षण पत्र पठाएको शाहीले बताउनुभयो । सीमा मिचिएको कुरा बाहिरिएपछि प्रमुख जिल्ला अधिकारी गिरी नेतृत्वको टोली सीमा क्षेत्रमा पुगेको थियो । तर उक्त टोलीले स्थलगत अध्ययन प्रतिवेदन सरकारलाई नबुझाउँदै परराष्ट्र मन्त्रालयले हचुवाको भरमा सीमा नमिचिएको विज्ञप्ति जारी गरेको शाहीले दाबी गर्नुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्