कनिका खबर
कार्तिक १३, दाङ
यूईएफए च्याम्पियन्स लिग अन्तर्गत हिजो भएको समूह ‘जी’ को खेलमा बार्सिलोना विजयी भएको छ । युभेन्टसको घरेलु मैदानमा भएको खेलमा युभेन्टसलाई २–० ले बार्सिलोनाले पराजित गरेको हो । जितसँगै बार्सिलोनाको २ खेलमा ६ अङ्क भएको छ । युभेन्टस भने २ खेलमा ३ अङ्कसहित दोस्रो स्थानमा छ । यस्तै हिजै भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इस्तानबुल बसकसेइरलाई पराजित गरेको छ । मोइस किनले दुई गोल गरेपछि फ्रान्सेली टोली पीएसजीले २–० को जित हासिल ग¥यो । यस्तै च्याम्पियन्स लिग फुटबलको अर्को खेलमा बोरुसिया डर्टमण्डले रसियन क्लब जेनिट सेन्ट पिटरबर्गलाई पराजित गरेको छ । राति भएको समूह ‘एफ’ को खेलमा डर्टमण्डले पिटरबर्ग टोलीमाथि २–० को जित निकालेको हो । डर्टमण्डले पहिलो जितसहित तीन अङ्क जोडेको छ । रसियन क्लब पिटसबर्ग अङ्कविहिन हुँदै तालिकाको पुछारमा छ । सोही समूहको अर्को खेलमा लाजियो र क्लब ब्रुगिसले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका छन् । लाजियोले ४ अङ्क जोड्दै तालिकाको शीर्ष स्थानमा छ । समान अङ्क भएपनि क्लब ब्रुगिस गोल अन्तरका आधारमा समूहको दोस्रो स्थानमा छ ।


