एकै दिन चार जना पूर्वी नवलपरासीका कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Sunday, January 18Nepali News Portal

एकै दिन चार जना पूर्वी नवलपरासीका कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक १५, नवलपरासी

पूर्वी नवलपरासीका आज एकै दिन चार जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

दुई जनाको होम आइसोलेशनमै रहेको अवस्थामा र अस्पतालको आइसोलेशनमा २ जना गरी आज एकै दिन चार जनाको मृत्यु भएको हो ।

होम आइसोलेशनमा रहेका नवलपरासीपूर्व कावासोती नगरपालिका ६ निवासी ६७ वर्षीय पुरुष र गैंडाकोट नगरपालिका २ निवासी ७७ वर्षीया महिलाको आज बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले जानकारी दिए ।

त्यस्तै, गैंडाकोट नगरपालिका १३ का ३८ वर्षका पुरुषको आज नै चितवनस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको गैंडाकोट नगर स्वास्थ्य शाखा प्रमुख झलकराज पौडेलले जानकारी दिए ।

यसैगरी, नवलपुरकै बिनयी त्रिवेणी गाउँपालिका १ दुम्किबासकी ६४ वर्षीय महिलाको पनि चितवन मेडिकल कलेजमा आज नै मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

ती महिला दम र श्वासप्रश्वाससम्बन्धी समस्या (सीओपीडी) भई कात्तिक १२ गते अस्पताल भर्ना भएकी थिइन् । असोज १३ गते कोरोना पोजेटिभ देखिएकी ती महिलाको आज बिहान साढे ९ बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

होम आइसोलेशनमा मृत्यु भएका कावासोतीका पुरुषलाई नगरपालिकाको समन्वयमा नारायणी नदीमा लगेर चितामा जलाएर दाहसंस्कार गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गर्दै परिवारको मागअनुसार दाहसंस्कार गर्न दिइएको नवलपुरकी प्रमुख जिल्ला अधिकारी मनमायाँ पंगेनीले खबरहबलाई बताइन् ।

यसैबीच, पूर्वी नवलपरासीमा आज १४ जना नयाँ संक्रमित थपिएका छन् । ती सहित जिल्लाका कुल संक्रमितको संख्या १ हजार ७ सय ७ पुगेको छ । ती मध्ये १ हजार १ सय ८७ जना संक्रमणमुक्त भएका छन् भने २२ जनाको मृत्यु भइसकेको छ । अब नवलपुरमा सक्रिय संक्रमितको संख्या ५ सय १६ रहेको छ ।

सक्रिय संक्रमित मध्ये रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेशनमा ११ जना, मध्यबिन्दु जिल्ला अस्पतालको आइसोलेशनमा ७ जना रहेका छन् भने ४ सय ८९ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । नौ जना संक्रमितको भने जिल्ला बाहिर उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्