शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको दरखास्त आह्वान – Kanika Khabar
Tuesday, April 21Nepali News Portal

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यको दरखास्त आह्वान

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, दाङ ।
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्यहरुका लागि दरखास्त आह्वान गरिएको छ । शिक्षा मन्त्रालयले आयोगको अध्यक्ष र सदस्यहरु नियुक्तिका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक नेपाली नागरिकहरुले तोकिएको प्रक्रिया पुर्याई १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

इच्छुक व्यक्तिले अध्यक्ष वा सदस्य भएपछि आयोगको नेतृत्व गर्ने र चाल्ने नेतृत्वदायी भूमिकासहितको अवधारणा पत्र तथा पाँच वर्षको व्यवसायीक कार्ययोजनासहित शिक्षा मन्त्रालयमा रहेको सिफारिस समितिको सचिवालयमा बुझाउनु पर्ने छ ।

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न सरकारले लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको नेतृत्वमा सर्च कमिटी गठन गरेको छ ।

आयोगका अध्यक्ष ताना गौतमको पनि कार्यकाल गत असोज १४ गतेदेखि सकिएपछि हाल आयोग पदाधिकारीविहीन छ । त्यसअघि नै आयोगका एक जना सदस्य ज्ञानी यादवको पद गत असारमा र अर्का सदस्य सिताराम पोख्रेलको पद २०७५ मंसिरदेखि रिक्त भएको थियो ।

सरकारले आयोगको अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनका लागि कम्तिमा स्नातकोत्तर उपाधि प्राप्त गरेको, नियुक्ति हुनुभन्दा कम्तिमा दुई वर्ष अगाडिदेखि कुनै राजनीतिक दलको सदस्य नरहेको र चालीस वर्ष उमेर पूरा भई ६५ वर्ष ननाघेको योग्यता तोकेको छ ।

अध्यक्ष पदका लागि नेपाल सरकारको विशिष्ट श्रेणीको अनुभव प्राप्त गरेको र सदस्यका लागि कानुन, शिक्षा वा प्रशासनको क्षेत्रमा कम्तिमा १५ वर्ष काम गरेको हुनुपर्ने शिक्षा मन्त्रालयले जनाएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्