कनिका खबर
कार्तिक २६, दाङ ।
कोभिड १९ को महामारीका कारण सञ्चालन हुँदै आएका भर्चुअल कक्षामा विद्यार्थीको पहुँच पुर्याउनका लागि विद्यार्थीलाई निशुल्क सिमकार्ड उपलब्ध गराउन निर्देशन दिइएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणलाई विद्यालय तहका सबै विद्यार्थीहरुलाई तत्काल निःशुल्क सिमकार्ड वितरण गर्न निर्देशन दिएका हुन् ।
‘कोरोना भाईरस महामारीका कारण चालू शैक्षिक सत्रको पठनपाठन विद्यालय तहमा सञ्चालन हुन सकेको छैन,’ मंगलबार अपरान्ह काठमाडौंको कमलादीस्थित प्राधिकरणको केन्द्रीय कार्यालयको अनुगमन गर्ने क्रममा मन्त्री गुरुङले भने- ‘देशभरका सामूदायिक विद्यालयहरुका विद्यार्थीलाई निःशुल्क सिमकार्डको व्यवस्था गरी अनलाईन कक्षा सञ्चालनका लागि इन्टरनेट सेवाको व्यवस्था मिलाउन प्राधिकरणलाई आग्रह गर्दछु ।’
उनले हरेक वडा तह र स्वास्थ्य चौकीमा पनि इन्टरनेट सेवा विस्तार गर्न ढिलाई नगर्न प्राधिकरणलाई सचेत गराए ।


