प्रदेश सरकारले ५१ करोड १४ लाखको कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रदेश सरकारले ५१ करोड १४ लाखको कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने

    मा प्रकाशित

कनिका संवाददाता
जेठ १, दाङ ।
प्रदेश नं. ५ ले कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने भएको छ । आज बिहीबार बसेको प्रदेशको मन्त्री परिषद्को बैठकले कोभिड—१९ बाट प्रभावित किसानलाई राहत प्रदान गर्न कोभिड विशेष कृषि कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । यो कार्यक्रमका लागि प्रदेश सरकारले ५१ करोड १४ लाख रुपैंया साउन मसान्तसम्म खर्च गर्ने लक्ष्य लिएको छ ।

यस कार्यक्रम अन्तर्गत कृषि एम्बुृलेन्स परिचालनका लागि ३४ लाख रुपैंया, बेमौसमी आलु उत्पादन कार्यक्रम गुल्मी, प्यूठान, रुकुम र रोल्पामा सञ्चालन गर्ने योजना सरकारले लिएको छ । त्यसका लागि १ करोड २० लाख रुपैंया खर्च गर्ने लक्ष्य लिएको छ । यसबाट ५ सय किसान लाभान्वित हुने र कम्तिमा २ देखि ६ रोपनीसम्ममा आलु खेती गरेको हुनुपर्ने रहेको छ भने प्रति रोपनी ६ हजार रुपैंयाको दरले अनुदान दिने निर्णय गरेको छ ।

त्यसैगरी व्यवसायिक तरकारी उत्पादन गर्न चाहने किसानलाई प्रोत्साहन अनुदान कार्यक्रम— दाङ, पाल्पा, अर्घाखाँची, गुल्मी,प्यूठान, रोल्पा र रुकुम सात जिल्लामा सञ्चालन हुने भएको छ । सरकारको योजना अनुसार यसबाट ७ हजार लाभान्वित रहनेछन् । यसका लागि सरकारले कम्तिमा २ देखि ६ रोपनीमा खेती गरेको हुनुपर्ने, मल र बीउका लागि प्रति रोपनी ५ हजार रुपैंयाका दरले अनुदान दिने निर्णय गरेको छ । यो कार्यक्रमका लागि सरकारले १४ करोड रुपैंया खर्च गर्ने लक्ष्य लिएको छ ।

त्यसैगरी सरकारले कोभिड —१९ का कारण विदेशबाट फर्केका र व्यावसायिक खेती उन्मुख प्रोत्साहन कार्यक्रम पनि लिएको छ । यसका लागि २१ करोड ८० लाख खर्च गर्ने लक्ष्य सरकारले लिएको छ । यो कार्यक्रम सरकारले १ सय ९ वटै पालिकामा गर्नेछ । व्यवसायिक खेतीका लागि मल विषादी, स—साना औजार, प्लाष्टिक घर, च्याउ घर, खोर निर्माण गर्न सहयोग गर्ने र प्रति किसान २० हजारका दरले सहयोग गर्ने यो योजनाबाट १० हजार ९ सय लाभान्वित हुने सरकारको अनुमान छ ।

ब्रोइलर कुखुरापालन साना किसान लक्षित कार्यक्रमका लागि सरकारले ७ करोड रकम छुट्याएको छ । यसका लागि २ हजार किसानलाई ३५ हजार रुपैंयाका दरले अनुदान दिने र यसबाट ६ हजार लाभान्वित हुने सरकारको ठहर छ ।

दूध उत्पादक किसान विशेष राहत कार्यक्रमका लागि सरकारले २ करोड ८० लाख रुपैंया विनियोजन गर्ने भएको छ । दूध उत्पादनको विगत आठ महिनाको विक्री तथ्याङक हेरी लकडाउनको ४० दिनको प्रति लिटर १० रुपैंयाका दरले अनुदान दिने निर्णय गरेको छ ।

बीउ उत्पादन कृषक लक्षित कार्यक्रमका लागि ४ करोड रुपैयाको योजना सरकारले लिएको छ । यो कार्यक्रम सबै जिल्लामा सञ्चालन गरिनेछ । २० हजार विघामा खाद्यान्न र तरकारीको बीउ उत्पादन गर्ने र प्रति बिघा २० हजार रुपैंयाका दरले उपलब्ध गराउने निर्णय सरकारले गरेको छ ।
यी सबै कार्यक्रमबाट ४१ हजार ४ सय प्रत्यक्ष लाभान्वित हुने सरकारले लक्ष्य लिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्