दाङ,२८ कार्तिक । किसानले उत्पादन गरेका बस्तुले बजार नपाएर खेर गइरहेका बेला दाङमै पहिलो पटक कृषि तथा अग्र्यानिक बस्तु सस्तोमा दिनका लागि सहकारी बजार सञ्चालनमा आएको छ । सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्था दाङको ब्यवस्थापनमा घोराहीको तुल्सीपुर चोकमा सहकारी बजार सञ्चालनमा आएको हो ।
सहकारी सस्थाले शुक्रवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि सस्थाको बारेमा जानकारी दिएको हो । यस क्षेत्रका किसानहरुले उत्पादन गरेको बस्तु महंगोमा खरिद गर्ने र उपभोक्ताहरुलाई बजार मूल्य भन्दा सस्तोमा सामान दिने उद्देश्यले सहकारी बजार सञ्चालनमा ल्याएको सर्वोत्तम बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष ध्रुवराज पौडेलले जानकारी दिएका छन्।
कृषि उत्पादनमा बिचौलियको हावी भएका कारण किसानले आफूले उत्पादन गरेको बस्तुको उचित मूल्य नपाएको भन्दै अध्यक्ष पौडेलले सहकारीले ठूलो मुनाफा लिनु नपर्ने भएका कारण सामान सस्तोमा दिन सकिने बताए ।
सहकारी बजारमा बिभिन्न महिला समूहहरु, कृषक समूह, सहकारी संस्था, उद्धमी समूहहरुले उत्पादन गरेका बस्तुलाई खरिद गरी उपभोक्ताहरुलाई बितरण गर्ने काम थालिएको पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तिमा उल्लेख छ । सहकारी बजारलाई दिगो बनाउने भन्दै सहकारी संस्थाले आफ्ना शेयर सदस्यले वार्षिक कारोवार अंकको आधारमा प्रतिफल पाउने ब्यवस्था गरिएको अध्यक्ष पौडेलले बताए ।
सहकारी बजार परियोजनामा सामान खरिद तर्फ भूमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्विनी प्रदेशको ४९ लाख ४९ हजार ९ सय ४८ रुपैया अनुदान र संस्थाको ५३ लाख ६० हजार ८ सय २८ गरी १ करोड ३ लाख १२ हजार ७ सय ७६ रुपैया सम्पत्ति खरिदतर्फ र चालु पूँजीतर्फ ४० लाख ५५ हजार ६ सय ५२ हजार गरी कुल १ करोड ४३ लाख ६८ हजार ४ सय २८ हजार रुपैयाको लागतमा बजार सञ्चालनमा ल्याइएको हो ।
सहकारी बजारको उदघाटन शनिवार
सहकारी बजारको शनिवार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशका मन्त्री आरती पौडेलले उदघाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाइएको छ ।
सहकारी बजार सञ्चालनका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय लुम्बिनि प्रदेशको स्थिर सम्पति खरिद तर्फ पुरक अनुदान सहयोग गरेको थियो । उदघाटन कार्यक्रममा उपस्थितिका लागि संस्थाले पत्रकार सम्मेलनमा अनुरोध पनि गरेको छ ।


