इतिहासकाे पानाबाट : यसरी सम्झन्थेँ विपी महाकवि देवकोटालाई – Kanika Khabar
Tuesday, June 9Nepali News Portal

इतिहासकाे पानाबाट : यसरी सम्झन्थेँ विपी महाकवि देवकोटालाई

    मा प्रकाशित

कनिका खबर

कार्तिक २९, दाङ ।

नेपाली साहित्यका महकवि लक्ष्मीप्रसाद देवकोटाको निधन हुँदा विपी कोइराला प्रधानमन्त्री थिएँ । २०१६ भाद्र २९ गते देवकोटाको देहवसान भयो भाद्र ३० गते कोइरालाले प्रतिनिधि सभामा मन्तव्य राख्दा देवकोटाप्रति श्रद्धाञ्जली प्रकट गर्दै शोक वक्तव्य राखेका थिए ।
यस्तो विपीले राखेको शोक वक्तव्य

सभामुख महोदय .

सदनको सामुन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको निधन भएकोमा शोक प्रस्ताव राख्न चाहन्छु । म सबैभन्दा पहिले यो शोक प्रस्ताव पढेर सुनाउँछु .

नेपाली साहित्य जगतका महान् विभूति महाकवि श्री लक्ष्मीप्रसाद देवकोटाको असामयिक निधनबाट देशलाई ठूलो क्षति हुन गएकोमा यो सदन त्यसमा गहिरो दुख प्रकट गर्दै उहाँको दिवङ्गत आत्माको शान्तिका लागि अन्तरमनबाट कामना गर्दै उहाँको शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ ।

यो सभाका प्रत्येक माननीय सदस्यलाई नेपालका सबैभन्दा ठूला साहित्यिक व्यक्तित्व, नेपाली साहित्यको इतिहासकै सबैभन्दा ठूला व्यक्तिको हिजो निधन भयो भन्ने अवगतै छ । अहिलेको वर्तमान युगका धेरैजसो हामीहरू लक्ष्मीप्रसाद देवकोटाकै साहित्यको छत्रछायाँमा हुर्किएका हाैं जस्तो मलाई लाग्छ । उहाँले नै साहित्यमा नयाँ दृष्टिकोण, नयाँ भावना र नयाँ विचारहरू दिनुभयो । त्यसैले हामीहरू पनि उहाँकै उत्पादन हाैं ।

धेरैजसो यहाँ यस सभामा उपस्थित हुनुभएका माननीय सदस्यहरू पनि उहाँलाई गुरु मान्दथे । हिजो त्यस्तो ठुलो व्यक्तिको मृत्यु भयो । म उहाँको मूत्यु हठात् भयो भन्न सक्दिनँ । उहाँ धेरै दिनदेखि क्यान्सरको रोगी हुनुभएको कारणले पनि उहाँको मृत्यु हठात् भएको होइन । उहाँको उपचारका लागि सरकारीतर्फबाट र गैरसरकारीतर्फबाट धेरै कोसिस भयो, विभिन्न ठाउँमा उहाँको उपचार भयो । तर रोगले उहाँमाथि विजय हासिल गर्यो र उहाँको मृत्यु भयो ।

उहाँ जस्तो पीडामा हुनुहुन्थ्यो, सायद यो उहाँका लागि असल भयो होला । तर समाजका लागि र नेपाली साहित्यमा यसबाट ठूलो क्षति भएको छ । मैले अधि भनेजस्तै हाम्रो इतिहासमा, हाम्रो साहित्यिक इतिहासमा त्यति ठूलो साहित्यिकार जन्मेकै थिएनन् ।

म भविष्यप्रति अविश्वास गर्ने मानिस होइन । त्यसो हुनाले म यस्तो क्षतिकाे कहिल्यै पनि पूर्ति हुनै सक्तैन भन्न चाहन्न । तर त्यो क्षतिको पूर्ति हुन धेरे गाह्राे छ । उहाँको मृत्युका कारण भएको क्षति र अभावलाई पूरा गर्न निक्कै गाह्रो हुन्छ भन्ने मलाई लागेको छ।

मैले सभाको सामुन्ने राखेको प्रस्तावको सम्बन्धमा सबै माननीय सदस्यहरूको मनमा यस्तै धारणा हुनुपर्छ भन्ने मलाई विश्वास छ । अत: मैले लामो भाषण गर्नु आवश्यक छैन । तसर्थ, म आफ्नो व्यक्तिगत तर्फबाट र आफ्नो पार्टी एवम सरकारको तर्फबाट उहाँप्रति श्रद्धाञ्जली अर्पित गरिरहेको छु ।

उहाँको सम्बन्धमा केही बोल्नु पनि अनावश्यक हुन्छ जस्तो मलाई लाग्छ । किनभने उहाँको साहित्यिक चर्चा, उहाले नेपाली जातिलाई र हाम्रो समाजलाई दिनुभएको देनको चर्चा साधारण तरिकाबाट शोक प्रस्तावमा गर्न सम्भव छैन जस्तो मलाई लाग्छ । म निसंकोच भन्न सक्छु, उहाँको व्यक्तित्व नेपाली समाजमा मात्र होइन, उहाँको उपस्थिति भएको कुनै पनि समाजमा, सबै समाजमा त्यस्तै हुन्थ्यो । त्यति ठूलो व्यक्तिको निधन भएकोले हामी सबैलाई धेरै दुःख लागेको छ । तसर्थ हामीहरू उहाँको आत्माले शान्ति प्राप्त गरोस् भन्ने इच्छा गर्दछौं र कामना पनि गर्दछाैं। साथै, उहाँको शोकसन्तप्त परिवारप्रति पनि हामीहरू समवेदना व्यक्त गर्दछौ । उहाँको परिवारले, यो देशले, यो समाजले बेहोर्नु परेको त्यत्रो ठूलो क्षतिको पूर्ति कुनै पनि प्रस्तावबाट हुन सक्दैन । परिवारका व्यक्ति या समाजका व्यक्तिले बेहोर्नुपरेको क्षति शोक प्रस्ताबबाट पूरा हुन सक्तैन । तसर्थ यो प्रस्तावमार्फत हामीले उहाँप्रति श्रद्धान्जली अर्पित गर्न मात्र खोजेका हाैं । धन्यवाद ।

(२०१६ साल भाद्र २९ गते महाकवि लक्ष्मीप्रसाद देवकोटाकाे निधन भएपछि महाकविकाे निधनमा तत्कालीन प्रधानमन्त्री काेइरालाले भाद्र ३० गतेकाे प्रतिनिधि सभामा आफ्नो मन्तव्य सहित शोक प्रस्ताव पेश गरेका थिए। )

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्