आज गाई, गोरु तथा म्हपूजा – Kanika Khabar
Sunday, March 15Nepali News Portal

आज गाई, गोरु तथा म्हपूजा

    मा प्रकाशित

कनिका खबर
कार्तिक ३०, दाङ ।
आज यमपञ्चक अर्थात् तिहारको चौथो दिन परेको छ । आज गाई , गोरुको तथा म्हपूजा परेको छ ।

गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ। स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ।

गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ।

नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहेपनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवम् धर्मशास्त्रविद् प्रा।डा।रामचन्द्र गौतमले जानकारी दिए।

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ।

आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो खान दिने गरिन्छ । गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ । त्यसैले आजको दिनलाई गाईतिहार र हलीतिहार समेत भन्ने गरिन्छ ।

साथै आज नेवार समुदायको म्हपूजा पनि परेको छ । नेपाल संवत्अनुसार हरेक नयाँ वर्षको पहिलो दिन नेवार समुदायले म्ह पूजा .आफ्नो शरीरको पूजा आफैँ गर्ने) गर्ने परम्परा छ । म्ह पूजाको दिन अर्थात यही कात्तिक ३० देखि नेपाल संवत्अनुसारको नयाँ वर्ष शुरु हुन्छ । यो दिन नेवार समुदायमा न्हूदँया भिँतुना (नयाँ वर्षको शुभकामना) आदानप्रदान गर्ने गरिन्छ ।

बौद्ध विद्वान राजेन्द्रमान बज्राचार्यले आफ्नो शरीरभित्र रहेको चित्त शुद्धिकरण गर्न हजारौँ वर्षदेखि नेवार समुदायले म्ह पूजा गर्दै आइरहेको बताए । नेवार समुदायमा म्ह पूजा औँशीको दिन गर्न नहुने मान्यता छ । सूर्योदयका साथ आएको चन्द्रमाको तिथिअनुसार म्ह पूजा मनाउनुपर्छ । स्वन्ति नखः .(तिहार) का सबै दिन खुशीयालीका दिन भएकाले म्ह पूजा नेपाल संवत् ११४० कछलाथ्व पारुका दिन मनाउनुपर्छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्