प्रदेश ५ ले उपचारको वैकल्पिक उपाय खोज्दै – Kanika Khabar
Friday, March 29Nepali News Portal

प्रदेश ५ ले उपचारको वैकल्पिक उपाय खोज्दै

    मा प्रकाशित

कनिका संवाददाता
जेठ २ रुपन्देही ।
दिनदिनै कोरोना सङ्क्रमितहरू बढ्दै गएपछि प्रदेश ५ मा उपचार र व्यवस्थापनका वैकल्पिक उपायको खोजी हुन थालेको छ । प्रदेशभित्र भएका अस्पतालहरूको क्षमता विस्तार गर्ने, थप अस्पताल बनाउने र अन्य अस्पतालहरूलाई खाली गराउने जस्ता उपाय अपनाउन थालिएको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालका अनुसार बुटवलमा रहेको कोरोना विशेष अस्पताललाई क्षमता विस्तार गरेर दुई सय बेड बनाउने प्रक्रिया शुरु भएको छ । बाँकेको कोरोना अस्पतालमा पनि बेड बढाइँदैछ भने अहिलेसम्म आशङ्का गरिएका बिरामी मात्र राखिएको दाङ, बेलझुण्डीको कोरोना विशेष अस्पतालमा पनि अब उपचार थालिनेछ । उनका भनाइमा अब दाङ र त्यसपश्चिमका सङ्क्रमितलाई बाँके र दाङका अस्पताल र दाङपूर्वका जिल्लाका सङ्क्रमितलाई रुपन्देहीमा उपचारको व्यस्थापन हुँदैछ ।

अस्पतालहरूको क्षमताभन्दा धेरै बिरामी थपिने सङ्केत भएपछि प्रदेश सरकारले अन्य प्रकृतिका अस्पतालहरूमा पनि कोरोनाको उपचार गराउने व्यवस्था थालेको छ । त्यसका लागि भैरहवाको भीम अस्पतालमा रहेका अन्य प्रकृतिका बिरामीलाई भैरहवाकै मेडिकल कलेजमा सारिएको छ । अब भीम अस्पतालमा पनि कोरोना सङ्क्रमितको उपचार हुनेछ । प्रदेशको कोरोना विपद् व्यवस्थापन केन्द्रले आवश्यकताअनुसार नेपालगञ्जका नेपाली सेना र प्रहरीका अस्पताललाई पनि कोरोना उपचारमा प्रयोग गर्न सकिने यसअघि नै निर्णय गरेको थियो ।

बुटवलको कोरोना विशेष अस्पतालमा ३६ जनाको उपचार भइरहेको छ । बाँके र बर्दियाका २६ जनालाई नेपालगन्जमा उपचार गरिएको छ । रुपन्देही, कपिलवस्तु तथा नवलपरासी पश्चिमका ६८ जनालाई रुपन्देहीमा व्यवस्थापन गरिँदै छ । भैरहवाको भीम अस्पतालमा २३ जनालाई व्यवस्थापन गरिँदै छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्