नेकपा विवाद : केन्द्रीय समिति बैठक सर्‍यो, प्रचण्डको काउन्टरमा ओलीले पनि प्रस्ताव ल्याउने – Kanika Khabar
Friday, March 29Nepali News Portal

नेकपा विवाद : केन्द्रीय समिति बैठक सर्‍यो, प्रचण्डको काउन्टरमा ओलीले पनि प्रस्ताव ल्याउने

    मा प्रकाशित

कनिका खबर
मंसिर ३, काठमाडौं

स्थायी कमिटी र केन्द्रीय समिति बैठकको मिति तय गर्दै नेकपा सचिवालय बैठक सकिएको छ ।

१० दिनपछि अर्थात् मंसिर १३ मा फेरि सचिवालय, १८ गते स्थायी कमिटी र २५ गते केन्द्रीय कमिटी डाक्ने निर्णय गर्दै बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकअघि आउँदो सचिवालय बैठकमै प्रथम अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले छुट्टै राजनीतिक प्रस्ताव पेस गर्ने भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठकमा ओलीले छुट्टै प्रस्ताव ल्याउने बताएको प्रवक्ता श्रेष्ठले बताए ।

यसअघि २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रस्ताव पेस गरेका थिए ।

साथै सचिवालय बैठक माग गर्दै पाँच नेताले लेखेको २ पन्ने पत्र, त्यसको जवाफमा ओलीले प्रचण्डलाई लेखेको १० पन्ने पत्र र प्रतिउत्तरमा प्रचण्डले लेखेको सात पन्ने पत्र र अन्तर पार्टी निर्देशन (अपानि) समेत वितरण भएको थियो ।

यसअघि स्थायी कमिटीले १५ कात्तिकमा तोकेको केन्द्रीय कमिटी बैठक एक महिनालाई सारिएको थियो । अब थप दिन पर धकेलिएको छ ।

आफूविरूद्ध एक पक्षीयरूपमा राजनीतिक प्रस्ताव छलफलमा पुगेपछि ओली बाबमा परेका ओलीले सचिवालय बैठक सार्न खोजेका थिए ।

तर, पार्टी फुट नजिक पुगेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार कार्यकारी अध्यक्ष दाहाललाई मिलेर अघि बढ्न सुझाव दिएकी थिइन् ।

नेकपा विवाद बढेपछि चिनियाँ पक्षले पनि त्यसको व्यवस्थापनमा सक्रियता देखाएको छ । चिनियाँ राजदूत होउ यान्छीले मंगलबार नै दुई घण्टा ओलीलाई भेटेकी थिइन् ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगेको थियो ।

बहुमत सचिवालय सदस्यको दबाबपछि गत कात्तिक २८ गते शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्