कमरेड मलाई ट्वाँ पर्ने अवसर मिल्याे – Kanika Khabar
Friday, March 29Nepali News Portal

कमरेड मलाई ट्वाँ पर्ने अवसर मिल्याे

    मा प्रकाशित

महेश चन्द
नेकपाका नेता आइपी खरेलले केही दिन पहिले सामाजिक सञ्जाल ट्विटरमा ट्विट लेखे ।

ट्विट यस्ताे छ :


लक्ष्मी पुजा नगरेका देश चन्द्रमा पुगे , हामी लक्ष्मी पुजा गर्ने नेपाली कंगाल छौ! पुजा गरेर सुखी होइन्छ भन्ने निक्ममा चेतना कहिले सकिएला हाम्रो ?
याे ट्विट सार्वजनिक भएपश्चात विभिन्न टिकाटिप्पणी चलिरहेकाे बेला महेश चन्दले एउटा पत्र लेखेका छन् खरेललाई ।
कमरेड अभिवादन ।
सर्वप्रथम धार्मिक आस्था सँगसँगै राष्ट्रियरुपमा समर्पण भावका साथ मनाउदै आएको पवित्र चाड तिहार र खासगरी लक्ष्मी पूजामाथि पोखिएको तपाईंको ट्विट पढी हर्षविष्मित हुन पाउँदा ट्वाँ पर्ने अवसर मिल्यो।तपाईंमाथि दया लाग्याे । तपाईंको विवेक र चेतनामाथि टिठ लागेर आयाे ।
अब, प्रसंगतिरै लागौं।
पहिलो कुरा चन्द्रमामा मानव उपस्थिति अहिलेसम्म अमेरिका र उसको बैज्ञानिक कर्म गर्ने संस्था नासा बाहेक कसैले पत्याएका छैनन, कमरेडले कुन सन्दर्भ सामग्रीबाट चन्द्रमामा पुग्ने देश प्रमाणित गर्नुभयो होला ? तपाईले कोड गर्न खोजेका सिमित देशहरुको जिडिपी पक्कै उचो छ तर चन्द्रमाको दुरिसम्म भने पक्कै पुग्न सकेको देखिदैन।

दोश्रो, रह्यो हामी कंगाल छौँ भन्नू भाछ। हो, पुँजीका हिसाबले हामी नेपालीको आय कम पक्कै छ कमरेड, तर सम्पत्तिका हिसाबले ९९% भन्दा बढी नागरिकसँग आफ्नो स्वामित्वमा रहेको सम्पती भएका पुराना देश मध्य हामी पर्छौँ। नत्र तपाईले प्रतिनिधित्व गर्ने राज्यले जबरजस्त थोपरेका हरेक कर कसरी नेपालीले तिर्न सक्दै आईरहेका छन, सोच्न पर्छ कि?

तपाईको आँखाले चन्द्रमा पुगेको देखेका राष्ट्रका राष्ट्रप्रमुखहरु, जो आफैमा गैरहिन्दु समाजको प्रतिनिधित्व गर्छन्, लक्ष्मी पूजाका अवसरमा अफिसिअल्ली नेपालीहरुलाई शुभकामना टक्रयाउँछन्। अझ वाराक ओवामा नामका अमेरिकिले आफू राष्ट्रप्रमुख हुँदा आफैले लक्ष्मी पूजा आयोजना गरी नेपाली आप्रवासीहरुलाई अपनत्व प्रदान गरेका भिडियोहरु त सोसल मिडियामा अहिले पनि देख्न पाईन्छ। तर तपाई त हाम्रो अगुवा, नेपाली मान्छे किन बन्नुहुन्छ यति निष्ठुरी?

कमरेड, सुखी र धनी हुनु आफैमा परिपूरक हुन् भन्ने चेत त भौतिकवादी दृष्टिकोणको मात्र हो। संसारिक रुपमा हेर्दा देश, काल र परिवेश अनुसार खुशी रहन मान्छेले आफू सुहाउँदा सयौं वादहरुको परिकल्पना गरेका छन् नै। हामी र हाम्रो समाज अहिलेसम्म अतियथार्थवादी सोचको समाज रही आएको छ नि । हेर्नुहोस, गाईले दुध दिइन् माता ठानेर पुज्यो हाम्रो समाजले, गोरुले पाखा पखेरा जोत्न शक्ति प्रदान गर्यो अनि पुजियो, नदीले सिंचितिकरण, पिपलले छहारी, सुर्यले (अग्नी) ताप, कुकुरले गोठालो जीवनको संरक्षण, यस्तै यस्तै…. यो कुनै अन्धभक्ति या चेतना शुन्यताको अवस्था नभई आफ्नो अस्तित्वमा सहादत प्राप्त गर्ने हरेक पक्षको सम्मान स्वरुप प्रचलित संस्कृतिक अनुष्ठान हो लक्ष्मी पूजा। जुन प्रकृतिले जन्मायो, हुर्कायो र संरक्षित गरिरहेको छ त्यस्लाई भावले दीप प्रज्वलन गरी भक्ति प्रकट गर्नु कुनै पनि कोणबाट चेतना शुन्यता हुन सक्दैन। बरु यस्लाई प्रकृतिबाट प्रभावित मानवीय स्वजागरण भन्न सकिन्छ। स्वजागरण भन्दा ठूलो सुख(परमानन्द) अरु के हुन सक्ला र।

पुनश्च: हुन त खुशी ,सुखी एक भाव भएका कारण यस्को नाप तौल त गरिदैन क्यारे तैपनि कुरा चन्द्रमामा पुग्ने देशका आम नागरिकको खुशीको प्यारामिटर उँचो हुन्थ्यो भने, पक्कै पनि ६०% अमेरिकनहरु डिप्रेसनको औषधीको नियमित सेवक रहदैनथे या जापान आत्म हत्याको आँकडाको टुप्पोमा
रहदैनथ्यो होला।

कमरेड, संस्थागत भैसकेको भ्रष्टाचार र अनियमितताको त कुरा नगरौं। रह्यो कुरा तपाईले ब्यक्त गनुभए झैं हामी लक्ष्मी पूजा गरेर नाङ्गो (कंगाल) भएको पक्कै हैन। बरु हामी कम उत्पादनशिल भने पक्कै भयौं। ने+पाल अर्थात भेडाको उन उत्पादन गर्ने समुदाय बाट बिदेशी पानी पिउनेसम्म आईपुग्दा कुन शासनमा कुन शासकले उत्पादनमा जोड दिए कुनले भोक बिलासमा समय ब्यतित गरे या भनौं गर्दैछन भन्ने जिब्रो बुझे पनि ६ करोड आँखाले देखेकै हुनु पर्दछ। म अर्थशास्त्रको विद्यार्थी नभएकाले किन गरिव भयौं भन्न त सक्दिनँ तर पनि आम धारणा के छ भने बजेट तर्जुमा बढी बितरणमुखी हुँदै गयो, उत्पादन मुखी हुन सकेन। जस्तो कि तपाईंहरुको राज्यारोहण पश्चात् नेपालभरि विभिन्न नाममा बनेका गेट र टावरहरुको लगानी क्याल्कुलेट गर्नुहोस् र सोच्नुहोस उक्त रकम कुनै नियमित उत्पाद्नको क्षेत्रमा परियोजित गरेको भए के हुन्थ्यो?
यति बलियो समाजवादउन्मुख राज्य हुँदाहुँदै पनि किन उत्पादनको क्षेत्र र दायरा बढ्न सकेन यो तपाईहरुबाट उत्तर खोजिरहेको जनाताको सवाल हुन सक्छ जो तपाईंको नजरमा चेतना शून्य छन् जो लक्ष्मी पूजा गर्दागर्दै न धनी हुन सके न सुखी !

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्