महासंघको केन्द्रीय सदस्यमा दाङका रिजाल र बञ्जाडेको उम्मेदारी – Kanika Khabar
Friday, April 26Nepali News Portal

महासंघको केन्द्रीय सदस्यमा दाङका रिजाल र बञ्जाडेको उम्मेदारी

    मा प्रकाशित

दाङ, ६  मंसिर ।

नेपाल उद्योग बाणिज्य संघको केन्द्रीय सदस्यका लागि दाङबाट बिमल रिजाल र हेमराज बञ्जाडेले उम्मेदवारी दर्ता गराएका छन् ।

यहि मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा हुन लागेको नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारणसभा र निर्वाचनमा दाङबाट नेपाल उद्योग बाणिज्य महासंघका लुम्विनी प्रदेश उपाध्यक्ष बञ्जाडे र तुलसीपुर उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष रिजालले केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेका हुन् ।

दाङ उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष समेत रहेका बञ्जाडे विभिन्न सामाजिक संघसस्थामा आवद्ध रहेका छन् । रिजाल तुलसीपुर उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष रहेका रिजालले तुलसीपुरमा सरसफाई अभियान पनि प्रभावकारी रुपमा सञ्चालन गर्दै आएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ फुलवारीमा स्थायी बसोबास रहेका रिजालले झण्डै ४ दशकदेखि तुलसीपुर बजारमा ब्यबसाय गर्दै आएका छन् ।

साधारणसभाको उद्घाटन कार्यक्रम मंसिर ११ गते अपरान्ह ४ बजेदेखि शुरू हुनेछ । यस्तै १२ गते बन्द सत्र हुनेछ । महासंघको निर्वाचन मंसिर १३ गते हुनेछ । त्यसका लागि तीन ठाउँ तोकिएको छ । काठमाडौस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, कार्की ब्याङ्केट बबरमहल र महासंघ कार्यालय टेकुमा निर्वाचनका कार्यक्रम हुनेछ ।

निर्वाचनको लागि उम्मेदवारी मनोनयन गर्न इच्छुक सदस्य, संघ, संस्थाले गत आर्थिक बर्षको बार्षिक सदस्यता शुल्क र उम्मेदवारी शुल्कसहित मनोनयन पत्र र प्रतिनिधिपत्र साधारणसभा हुनुभन्दा ७ दिनअघि अर्थात मंसिर ४ गते साँझ ५ बजेभित्र महासंघको सचिवायल टेकुमा दर्ता गराइसक्नुपर्ने ब्यबस्था छ । महासंघका वरिष्ठ अध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान छ । यसकारण वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु, पदाधिकारी र केन्द्रीय सदस्य गरी २५ जना निर्वाचित हुनेछन् ।

वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्र ढकाल गरी दुई समूह चुनावी मैदानमा हुनुहुन्छ । रिजालले चन्द्र ढकाल समूहबाट महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । बर्तमान अध्यक्ष भवानी राणा नेतृत्वको नेपाल उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यमा दाङ घोराहीका ध्रुवराज श्रेष्ठ भारी छन् ।

महासंघको निर्वाचनमा १ सय ६ जना मतदाता रहेका निर्वाचन समितिले जनाएको छ । लुम्बिनी प्रदेशको १२ जिल्लाबाट २० वटा उद्योग बाणिज्य संघले मतदान गर्न पाउनेछन् । दाङबाट तुलसीपुर उद्योग बाणिज्य संघ, दाङ उद्योग बाणिज्य संघ घोराही र देउखुरी उद्योग बाणिज्य संघ लमहीले मतदान गर्न पाउने छन् ।

प्रदेश नं. १ बाट २३, प्रदेश नं. २ बाट १२, बागमती प्रदेशबाट १६, गण्डकी प्रदेशबाट १५, लुम्बिनी प्रदेशबाट २०, कर्णाली प्रदेशबाट १० र सुदूरपश्चिम प्रदेशका १० वटा उद्योग बाणिज्य संघका अध्यक्ष गरी कुल १ सय ६ जनाले मतदान गर्ने पाउने ब्यबस्था नेपाल उद्योग बाणिज्य महासंघको बिधानमा ब्यबस्था गरिएको छ । कोरोना भाइरस महामारीका बीच स्वास्थ्य सुरक्षासम्बन्धी सबै मापदण्ड पालना गरी निर्वाचन गर्न लागिएको महासंघले सूचना निकालेर जानकारी दिएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्