करको दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी : अर्थमन्त्री – Kanika Khabar
Saturday, April 20Nepali News Portal

करको दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी : अर्थमन्त्री

    मा प्रकाशित

कनिका खबर
मंसिर ७, काठमाडौँ ।
करको दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन् । अर्थमन्त्री पौडेलले समग्र राजश्वको संरचनामा आन्तरिक राजश्वको अंशमा अभिवृद्धि गर्न करको दायरा विस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण गर्न जरुरी भएको बताएका हुन् ।

नवौँ राष्ट्रिय कर दिवस–२०७७ को अवसरमा आन्तरिक राजश्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजश्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताएका हुन् ।

अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राही मैत्री व्यवहार, प्रक्रियागत सरलीकरण र प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । उनले करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा तथा पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजश्व विभाग र मातहतका सबै राजश्व कार्यालयलाई निर्देशन दिएको उको सचिवालयले जनाएको छ ।

अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न आग्रह गरे ।
कर प्रशासनमा सुशासन, सदाचार र भ्रष्टाचारप्रतिको शून्य सहनशीलताको नीतिलाई पालन गर्न पनि उनले निर्देशन दिए । अर्थमन्त्री पौडेलले आन्तरिक राजश्व विभागको चालू आवका लागि तय गरेको कार्यमूलक सूचकमा तोकिएको लक्ष्य हासिल गर्न तथा आर्थिक ऐन–२०७७ मार्फत ल्याइएका विभिन्न योजना तथा सुधारका कार्ययोजनाको प्रभावकारी कार्यान्वयनमा योगदान गर्नु हुने विश्वास पनि व्यक्त गरे ।

उनले कर दिवसले कर प्रशासनको आवश्यक ज्ञान र दक्षता अभिवृद्धि गर्नाका साथै कर प्रशासनलाई निष्पक्ष सेवाग्राही मैत्री भावनाको विकास गर्न उत्प्रेरित गराउन र सुशासनयुक्त तथा पारदर्शी बनाउन सहयोग पुर्याएको बताए ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्