निकुञ्ज नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने – Kanika Khabar
Thursday, April 25Nepali News Portal

निकुञ्ज नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने

    मा प्रकाशित

मंसिर ९, चितवन । चितवन राष्ट्रिय निकुञ्जको नियन्त्रणबाट भागेकालाई कानूनी दायरामा ल्याइने भएको छ । निकुञ्जको पश्चिम सेक्टर अमलटारीबाट पक्राउ परेका ३१ जना आइतबार भागेका थिए । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकालाई स्थानीयवासी र जनप्रतिनिधिले हुलहुज्जत गरी भगाएका थिए । उनीहरुले कार्यालयमा समेत तोडफोडको प्रयास गरेको अधिकारीले जानकारी दिए ।

घटनाअनुसार शनिबार राति १२ः१५ बजे निकुञ्जको भित्री इलाका नारायणी नदीको गोहीघाट आइल्याण्ड क्षेत्रमा गैरकानूनी तारबार निषेधित कार्य गरेका अभियोगमा तिनलाई पक्राउ गरिएको थियो । उनीहरुले माछा मार्न प्रयोग गरिने निषेधित तियारी जाल प्रयोग गरी राति माछा मार्ने तथा झुप्रा बनाई संवेदनशील क्षेत्रमा बसेर शङ्कास्पद गतिविधि गरेको देखिएपछि पक्राउ गरिएको उनले बताए ।

अवैध क्रियाकलापमा संलग्न रहेकाले पक्राउ गरिएको र घटनाका विषयमा जाँचबुझ तथा आवश्यक सोधपुछसमेत गर्न नदिइकन हुलहुज्जत गरी भगाउँदा सो क्षेत्रमा सुरक्षा चुनौती थपिएको निकुञ्जले जनाएको छ । गैरकानूनी रुपमा माछा मार्न मात्र नभएर चोर– शिकारीलाई समेत नदीमा वारपार गराउन प्रयोगमा आएका आशङ्का गरिएका १३ डुङगा नष्ट गरिएको सूचना अधिकारी अधिकारीले बताए ।

पक्राउ परेर भागेकामध्ये दुई जना मध्यविन्दु नगरपालिका–३ का र अन्य २९ जना कावासोती नगरपालिका–१५ का बोटे, माझी र मुसहर छन् । तिनलाई यथाशक्य चाँडो खोजी गरी पुनःकानूनी दायरामा ल्याई आवश्यक अनुसन्धान तथा कारवाही अगाडि बढाइने निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।

सोही क्षेत्रमा केही समय अगाडि चोर–शिकारीले दुर्लभ एकसिँगे गैँडा मारेका थिए । पछिल्लो समय गैँडा मारिने क्रम बढेको छ । चालु आर्थिक वर्ष शुरु भएयता चार गैँडा चोर–शिकारीबाट मारिएको अवस्थामा भेटिएका छन् । निकुञ्जले चोरीशिकार र प्राकृतिक कारणले गैँडा मर्ने क्रम बढेपछि समिति बनाएर अनुसन्धान गरिरहेको छ ।रासस

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्